तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो जितको खोजीमा कोशी, आर्मीलाई २३१ रनको लक्ष्य

रुपन्देही । रुपन्देही जिल्लाको भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले त्रिभुवन आर्मीलाई २३१ रनको लक्ष्य दिएको छ । पहिलो जितको खोजीमा रहेको कोशीले आज सम्हालिँदै मध्य क्रमका ब्याट्सम्यानहरूको सहयोगमा २३० रन बनाएको छ । 

भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै उक्त स्कोर बनाउँदा उसको लागि सुवन गहतराजले अर्ध शतकको सहयोग गरे । सुवनले ५७ बल खेल्दै ७ चौकाको सहयोगमा ५१ रन बनाए । कोशीका दुई जना ब्याट्सम्यानहरू भने अर्ध शतकबाट चुकेका छन् । सुजन थपलियाले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाए । यसै गरि सोनु अन्सारीले ७४ बलमा ४ चौकाको सहयोग ४४ रन बनाए । 

बलिङमा भने आर्मीका लागि सोमपाल कामीले ४ विकेट लिए । उनले ८ ओभरमा ३७ रन खर्चिँदै ४ विकेट लिए । यस्तै साहब आलम र आकाश चन्दले समान २ विकेट लिँदा कुशल मल्लले १ विकेट लिए । 

प्रतियोगितामा ३ खेल खेलेको कोशी अहिले सम्म जित निकाल्न सकेको छैन । अङ्क तालिकामा कोशी शून्य अङ्कसहित सबै भन्दा पुछारमा रहेको छ भने त्रिभुवन आर्मी अहिलेसम्म खेलेका ३ वटै खेलमा जित निकाल्दै ६ अङ्क सहित प्रतियोगिताको शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button