तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिका बाटै राष्ट्रिय परिचयपत्रको सेवा

इलाम । इलाममा राष्ट्रिय परिचयपत्रको फाराम भर्ने र तस्बिर खिचाउने कार्य अब सूर्योदय नगरपालिकाबाट पनि हुने भएको छ । 

अहिले इलाम सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयमा मात्र रहेको सेवा सूर्योदय नगरपालिका बाट पनि पाइने भएको हो । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सूर्योदय नगरपालिकाबिच राष्ट्रिय परिचयपत्र वितरण दर्ता वितरण अस्थायी स्टेसन स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । विभागका महानिर्देशक युवराज कट्टेल र सूर्योदयका मेयर रणबहादुर राईले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएकाे छ। 

यही फागुनबाट सेवा सुरु गरिने मेयर राईले जानकारी दिए । ‘करिब १० महिनाको निरन्तर प्रयासपछि यो सेवा नगरमा आएको छ,’ उनले भने, ‘यसका लागि विभाग, इलामस्थित जिल्ला प्रशासन कार्यालयलगायतले सहयोग गर्नुभएको छ ।’ अहिले प्रशासन कार्यालयमा दिनहुँ सय जनाले परिचयपत्रका लागि फाराम भरिरहेका छन् । तयारी कार्ड लिनेको सङ्ख्या दिनहुँ ३० हाराहारी रहेको प्रशासनले जनाएको छ । 

प्रशासनमा गत मङ्सिर सम्ममा फाराम भरेका २६ हजार जनाको परिचयपत्र कार्यालयमा आइसकेको र १० हजार जति वितरण भइसकेको सिडिओ कल्पना श्रेष्ठले जानकारी दिइन् । ‘कार्यालयमा आएको करिब १६ हजार कार्ड वितरण हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘कार्ड तयार भएपछि सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज आउँछ, त्यसपछि प्रशासनमा कार्ड लिन आउन सकिन्छ ।’  

अहिले बैङ्क खाता खोल्नेदेखि विभिन्न काममा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य छ । त्यसैले प्रशासनमा दिनहुँ फाराम भर्नेको लर्को लागिरहेका बेला सूर्योदयमा समेत यो सेवा विस्तार भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button