अब आयोजना परेर हैन की आयोजना सम्पन्न भएपछि खुशी हुनुपर्छ : उपाध्यक्ष डा. अधिकारी
काठमाडौँ । राष्ट्रिय योजना आयोगले आयोजनाहरूको कार्यान्वयनमा तदारुकता ल्याउने गरी काम सुरु गरेको छ ।
राष्ट्रिय योजना आयोगले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगका उपाध्यक्ष प्राध्यापक डा.शिवराज अधिकारीले आयोजनाहरूको समयमै सम्पन्न गर्ने कुरालाई विशेष प्राथमिकतामा राखेर आयोगले काम गरिरहेको बताउनुभयो ।
अब आयोजना परेर हैन की आयोजना सम्पन्न भएर खुशी हुनुपर्ने उल्लेख गर्नुहुँदै उपाध्यक्ष डा.अधिकारीले त्यसका लागि केन्द्रदेखि पालिका स्तरसम्म छलफल र संवादका कार्यक्रमलाई अगाडी बढाउँदै राष्ट्रिय योजना आयोग लागिरहेको पनि बताउनुभयो ।
पूँजीगत खर्च बढाउनका लागि कार्यान्वयनमा जाने खालका दीर्घकालीन लाभ दिने योजनाहरूको छनौट गरी समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोच २१ सयलाई आधार मानी योजनाहरूको छनोटमा तीनै तहका सरकारले समन्वय गरी काम गर्नुपर्ने खाँचो पनि उपाध्यक्ष डा.अधिकारीले औँल्याउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनीले सोह्रौँ योजनाले लिएको दिगो विकास लक्ष्यको कार्यान्वयनका लागि आयोगले उत्पादन तथा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई विशेष प्राथमिकतामा राखेर काम सुरु गरेको बताउनुभयो ।
यस्तै, त्यस अवसरमा आयोगका सहसचिवद्धय खुमराज कोइराला र अर्जुन भण्डारीले नेपाल आगामी सन् २०२६ मा अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएकाले राष्ट्रिय योजना आयोग आयोजना बैङ्क सञ्चालन तथा व्यवस्थापन मापदण्ड बनाई त्यस दिशामा क्रियाशील भई लागिरहेको जानकारी गराउनुभयो ।
राष्ट्रिय योजना आयोगले देशैभर आयोजनाहरूको सफल तथा गुणस्तरीय र प्रभावकारी कार्यान्वयनका लागि प्रदेश आयोजना आयोगहरू र पालिका स्तरमा समेत छलफलको आयोजना गरी अघि बढ्ने पनि त्यस अवसरमा आयोगका अधिकारीहरुले जानकारी दिनुभयो ।
तस्बिर: केशबराज बिष्ट
प्रतिक्रिया राख्नुहोस्