तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको मार्तडीमा चिस्यान गृह सञ्चालनमा, कृषकलाई राहत

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा निर्माण गरिएको चिस्यान गृह सञ्चालनमा आएको छ । मङ्गलवार बडिमालिका नगरपालिका ६ कोर्धका किसानले उत्पादन गरेका अर्ग्यानिक सुन्तला भण्डार गर्दै चिस्यान गृह सञ्चालनमा ल्याइएको हो ।

 बडिमालिका नगरपालिका र सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयको एक करोड बढीको लगानीमा कृषि उपज केन्द्रसँगै चिस्यान गृह निर्माण गरिएपछि सञ्चालनमा आएको बडिमालिका नगरपालिकाले जनाएको छ।

 बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले जिल्लामै चिस्यान गृह बनेपछि यहाँ उत्पादन हुने तरकारी तथा फलफूल  अब देखि लामो समय सम्म भण्डार गर्न सकिने बताउनुभयो। 

२०८१ साउनमै संरचनाहरू बनेका भए पनि चिस्यान केन्द्र आज बाट  सञ्चालनमा आएपछि  कृषकले उत्पादन गरेका फलफूल तथा तरकारीहरू लामो समय सम्म भण्डारण गर्न मिल्ने हुँदा  स्थानीय कृषकहरूलाई राहत मिलेको छ।

चिस्यान गृह सँगै निर्माण कार्य सम्पन्न भएको कृषि उपज केन्द्र भने हालसम्म सञ्चालनमा आउन सकेको छैन ।  चिस्यान केन्द्रसँगै कृषि उपज केन्द्र सञ्चालनमा आए जिल्लाका किसानहरूको बारीमा उत्पादन हुने कृषि उपज भण्डार तथा बिक्री वितरणमा ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

मङ्सिर १ गते कोदो दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उक्त कृषि उपज केन्द्रको भवन उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button