तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलमा धुमधामका साथ तीलासंक्रान्ति पर्व मनाइँदै  

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा इष्टदेवताको विशेष पूजापाठ सहित धुमधामका साथ तीलासंक्रान्ति पर्व मनाईदैछ । 

आज बिहान घरका हरेक सदस्यहरुले स्नान गरेर घरका मूल सदस्यले प्रदान गरेको तीलखतको प्रसाद ग्रहण गर्ने चलन रहेको छ । घरका मूल सदस्यले बिहान कूल देवतालाई विशेष तरिकाले तयार पारेको घ्यु खिचडी (ज्याउलो) र सख्खर मिसाएको तीलको लड्डु, मुरही, च्युरा भुटेको लड्डु तथा अन्य खाद्य पदार्थको लड्डुहरू ईठदेवतालाई अर्पण गरेर घरका हरेक सदस्यलाई तीलखत भराउने चलन रहेको छ । 

तीलखतमा तिल, चाँवल तथा सख्खर मिसाएर बनाएको प्रसाद मूल व्यक्तिले दिने चलन रहेको छ जलाई स्थानीय भाषामा तीखत भन्ने चलन रहेको छ । यसका साथै आजका दिन मूल व्यक्तिले पण्डित तथा ब्राह्मणलाई सख्खरले तयार पारिएका लड्डु तथा न्यानो कपडा दान स्वरूप दिने चलन रहेको छ । 

त्यसपछि घरका हरेक सदस्यहरुले आजको दिनमा अनिवार्य रुपमा तीलको लड्डु, च्युरा तथा मुरहीको लड्डु खाने तथा ईष्टमित्रलाई बोलाएर खुवाउने तथा उपहार दिने चलन रहेको छ । दिउँसो तीर विशेष रुपमा तयार पारिएको ज्याउलो घरका हरेक सदस्यहरुले अनिवार्य रुपमा खाने चलन रहेको छ । 

तीलासंक्रान्तिमा तयार पारिएको जाउँलोमा मांसको दाल, घ्यु अनिवार्य रुपमा मिसाइएको हुन्छ । ज्याउलोसँगै तरुल, आलु, भाटा, काउली सहितका विभिन्न प्रकारका तरकारीको तरुवा तयार पार्ने र खाने एवं खुवाउने चलन रहेको छ । घ्यु खिचडीसँगै दही पनि खाने चलन रहेको छ । 

आजको दिन तयार पारिएको ज्याउलो अन्य दिनको तुलनामा विशेष स्वादिलो हुने गरेको छ । यसका साथै तीलासंक्रान्तिको अवसरमा हुनेले नहुनेलाई न्यानो कपडा, कम्बल सहितका लुगाफाटाहरू दान गर्ने चलन मिथिलामा रहेको छ ।

यसै बीच जनकपुरधामको जानकी चोकमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि खिचडीको भोजको आयोजना गरिएको छ । स्थानीय युवा सुशील कर्णको अगुवाइमा स्थानीय युवाहरूले खिचडीको भोज अंगराजसर पोखरीको डिलमा खुवाइँदै आएको छ । सो भोजमा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी रहेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button