तपाईँ सुन्दै हुनुहुन्छः

एमाले केन्द्रीय समिति बैठक आइतबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । 

यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ । 

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनुहुनेछ । उहाँबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताउनुभयो । 

बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ । 

यही पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । 

संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button