नेपालगञ्जमा सातौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु
नेपालगञ्ज ।नेपालगञ्जमा आजदेखि सातौं विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालगञ्ज नगर समितिको व्यवस्थापनमा आजदेखि नेपालगञ्ज रङ्गशालामा सुरु भएको तीन दिने प्रतियोगिताको प्रमुख अतिथि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले उद्घाटन गर्नुभयो ।
नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नगरका ४४ वटा माध्यमिक र केही आधारभूत तहका विद्यालयले मार्च पास गर्दै सभाध्यक्ष र प्रमुख अतिथिलाई सलामी अर्पण गरेका थिए । उद्घाटन समारोहमा बोल्दै मन्त्री अग्रवालले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा यस्ता प्रतियोगिता बेला बेलामा सञ्चालन हुन जरुरी रहेको बताउनुभयो । खेलाडी उत्पादन र प्रोत्साहनका लागि विद्यालयहरूले खेलिरहेको भूमिकाको सराहना गर्दै उहाँले नेपालगञ्ज उपमहानगरपालिकाले भव्य कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
नगर प्रमुख प्रशान्त विष्टले खेलकुदले अनुशासित, मेहनती र कर्तव्यनिष्ठ बनाउन प्रेरित गर्ने भएकाले विद्यालय स्तरदेखि नै खेलकुद गतिविधि र प्रतियोगिता सञ्चालन भइरहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमको सञ्चालन मङ्गल प्रसाद माविकी प्रधानाध्यापक सन्ध्या गुप्ता र फुल्टेक्रा माविकी प्रधानाध्यापक शान्ति कँडेलले गर्नुभएको थियो । २१ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न इभेन्टहरू समावेश गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्