तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५९८ जनाको उद्धार

नेपालगन्ज । नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९८ जनाको उद्धार गरिएको छ । 

माइती नेपाल नेपालगन्जले सन् २०२४ मा भारत लगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरेको हो । नेपाल पत्रकार महासङ्घ बाँके शाखाको आयोजनामा आज गरिएको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले काम, विवाह, घुमघाम, किनमेल लगायतको बहाना बनाएर नाका पार हुन थालेका शङ्कास्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि ५ सय ९८ जनालाई फिर्ता गरिएको  जानकारी दिनुभयो ।

संयोजक कोइरालाले एक वर्षमा ७ सय ७७ जनाको खोजतलासको निवेदन परेको बताउनुभयो । त्यसमध्येमा ४ सय ७ जना फेला परेका छन् । भारत तथा तेस्रो मुलुकमा पुगेकाहरू सम्पर्कमा नआएपछि आफन्तले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक कोइरालाले यो वर्ष पनि खोजतलासको निवेदन धेरै पर्नेमा बाँके अगाडि रहेको छ । त्यसपछि सुर्खेत, बर्दिया, दाङ, जाजरकोट, दैलेख जिल्ला रहेका छन् ।

नेपालगन्ज नाका सधैँ भिडभाड हुने भएकाले दलालले मानव तस्करीको लागि यो नाकालाई रोज्ने गरेको कोइरालाको भनाई छ । नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले मानव बेचबिखन सामाजिक कलङ्क र सङ्गठित अपराध भएको उल्लेख गर्दै त्यस्ता क्रियाकलापमा संलग्नलाई निरुत्साहित गर्न मिडियाको अहम् भूमिका हुने बताउनुभयो । मानव बेचबिखन विश्वव्यापी समस्या भएकाले सुरक्षा कूटनीतिको माध्यमबाट अघि बढ्नुपर्नेको गिरीको जोड छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button