सीपयुक्त शिक्षा अहिलेको आवश्यकता: महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जागिरको लागि नेपालको शिक्षा व्यवस्था ठिकै भए पनि सामाजिक जीवनको लागि शिक्षा व्यवस्था निक्कै कमजोर भएको बताउनुभएको छ ।
श्री माध्यमिक विद्यालय रझेना घोराही दाङको ६७ औँ वार्षिकोत्सव समारोहलाई सोमबार रझेनामा सम्बोधन गर्दै महासचिव पोखरेलले उत्पादनका लागि, व्यापार, व्यवसाय लगायतका क्षेत्रको लागि नेपालको शिक्षा व्यवस्था कमजोर भएको बताउनुभयो । ‘सामाजिक चुनौतीसँग सामर्थ्य जुटाउनको लागि हाम्रो शिक्षा व्यवस्था कमजोर छ’, उहाँले भन्नुभयो ।
नेपालको शिक्षा व्यवस्थाले नेपालमा रहेको श्रोत साधनलाई अधिक प्रयोग गरेर काम गर्न सक्ने बनाउन नसकेको उहाँले बताउनुभयो । हाम्रो शिक्षा प्रणाली जागिर खोज्ने खालको मात्र भएको उहाँको भनाइ छ । पढेका युवाले जागिर मात्र खोज्ने तर उद्यमशीलतामा नजोडिनाले गर्दा देशको विकास हुन नसकेको पोखरेलले बताउनुभयो । यस्तै अवस्था रहे देशको विकास र समृद्धिको यात्रा कमजोर हुने उहाँको धारणा छ ।
निर्वाहमुखी खेती प्रणाली बदल्न नसक्ने र पढेका युवा पुस्ता त्यस्तो खेतीमा जोडिन नमान्दा आजको युवा पुस्ता बेरोजगार भनेर विदेश पलायन हुने क्रम बढेको उहाँले बताउनुभयो । अबको शिक्षाले युवालाई व्यवसायीक कृषिमा उन्मुख गराउनुपर्ने उहाँको राय छ । ‘अब हाम्रो शिक्षा व्यवस्था ज्ञानसँगै सिप सिक्ने खालको हुनुपर्दछ, त्यो क्षमता बालबालिकालाई सुरुदेखि नै सिकाउन सक्नु पर्दछ, होइन भने हाम्रो मुलुक श्रम बेच्ने मुलुक मात्र हुने छ’, उहाँले भन्नुभयो ।
समृद्धिको यात्रा नियमित शिक्षाबाट मात्र सम्भव नहुने उहाँले बताउनुभयो । यसको लागि प्राविधिक धारको शिक्षा आवश्यक रहेको पोखरेलको भनाइ छ ।नेपाल बनाउन सकिन्छ र बनाइन्छ भन्ने आत्मविश्वास विद्यार्थीलाई जगाउनु पर्ने उहाँले बताउनुभयो । यस तर्फ अबको शिक्षा केन्द्रित हुनुपर्नेमा पोखरेलले जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्