मुन्दुम पर्यटन बर्ष–२०२५, भौतिक संरचनाको निर्माण कार्य थालिँदै
भोजपुर । सरकारले घोषणा गरेको १ सय पर्यटकीय गन्तव्यमा सुचीकृत मुन्दुम पदमार्गमा भौतिक संरचना निर्माण र मर्मतका कामहरू सुरु गरिएको छ ।
सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण बर्ष घोषणा गरिएसँगै संरचना निर्माणको काम पनि सुरु गरिएको आयोजक टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
१ लाख पर्यटक भित्राउने उद्देश्यका साथ मुन्दुम ट्रेल भ्रमण वर्ष आगामी माघ एक गतेबाट औपचारिक रुपमा सुरु हुदैछ ।
मुन्दुम पदमार्गले छोएका स्थानीय पालिकाहरुले आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने छन् । गाउँपालिका अध्यक्ष बस्नेतले भन्नुभयो, “प्राकृतिक सौन्दर्य र किराँत मुन्दुमी संस्कृतिले भरिपूर्ण मुन्दुम पदमार्ग पूर्वकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले उक्त पदमार्गमा एक वर्षमा एक लाख पर्यटक भित्राउने उद्देश्यका साथ मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ आयोजना गरिएको हो ।”
पर्यटन भ्रमण वर्षमा पदमार्गमा आउने पर्यटकहरूलाई लक्षित गरी टेम्केमैयुङ गाउँपालिकाले २३ जना गाइड र भरीयालाई तालिम समेत दिएर तयारी अवस्थामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकेन पौडेलले बताउनुभयो । पदमार्गमा देखिएका खानेपानी, वासस्थान र शौचालयको समस्यालाई समाधान गर्न काम समेत सुरु भइसकेको पौडेलले जानकारी दिनुभयो ।
पदमार्गमा रहेका भौतिक संरचनाहरूको निर्माणका लागि यसै आर्थिक वर्षमा खर्च हुने गरी एक करोड ८५ लाख बजेटको काम हुने गाउँपालिकाले जनाएको छ ।
लेकाली हावापानीसँगै हिमाललाई नजिकबाट नियाल्न सकिने यो पदमार्ग पछिल्लो समय बाह्य तथा आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । पर्यटकहरू समुन्द्री सतहदेखि करिब चार हजार एक सय ५४ मिटरको उचाइमा रहेको सिलिचुङसम्म पुगेर फर्किने गर्दछन् ।
प्रतिक्रिया राख्नुहोस्