स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ : मुख्यमन्त्री लामा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले योजनाहरू कार्यान्वयनका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका–१२ को चुनावी विजयी सभालाई आज सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले प्रदेश सरकार जहिले पनि स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
योजना कार्यान्वयनका लागि स्थानीय सरकारलाई आवश्यक ऐन, कानुन स्थानीय तहसँग समन्वय गरेर प्रदेश सरकारले निर्माण गरिरहेको बताउनुहुँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारलाई चाहिने आवश्यक थुप्रै ऐन, कानुन बनेर कार्यान्वयनको प्रक्रिया गइसकेकोले अब स्थानीय तहलाई आवश्यक ऐन, कानुन बनाउन प्रदेश सरकारले जोड दिएको बताउनुभयो ।
विजयी सभामा हेटौँडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा नवनिर्वाचित अर्जुनप्रसाद तिवारीले उपनिर्वाचनका क्रममा जनतासँग आफूले गरेको बाचा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै आफ्नो अमूल्य मत दिएर विजय गराउने मतदाताप्रति आभार व्यक्त गर्नुभयो ।
उपनिर्वाचनमा दुई हजार ६३ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार तिवारी वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का रविकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गर्नुभयो ।
गत २०७९ को स्थानीय तह निर्वाचनमा सो वडाको वडाध्यक्षमा निर्वाचित माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएपछि रिक्त वडाअध्यक्ष पदका लागि हिजो उपनिर्वाचन भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्