नागरिक सेवामा उच्च व्यावसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले देश र नागरिकको सेवामा उच्च व्यावसायिकता प्रदर्शन गर्न नेतृत्व तहका प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका उच्च अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गर्दै उहाँले पदोन्नतिसँगै जबाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको स्मरण गराउनुभयो ।
सङ्गठनलाई समयानुकूल सुदृढ र गतिशील बनाउन नेतृत्व तहका प्रहरी अधिकृत सदैव चिन्तनशील रहनुपर्नेमा जोड दिँदै महानिरीक्षक कुँवरले विभिन्न सृजनशील प्रयासबाट सङ्गठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्न निर्देशन दिनुभयो ।
सो अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतका तर्फबाट प्रहरी नायब महानिरीक्षक ध्रुवराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाका साथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका आठ जना प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गर्नुभएको थियो ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी नायब महानिरीक्षकमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्