नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताउनुभएको छ ।
कम्बोडियाको राजधानी फ्नोम पेन्हमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी) को ११ औँ पूर्ण सत्रलाई आइतबार सम्बोधन गर्दै सभामुख घिमिरेले भगवान बुद्धको भूमि नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्त्वपूर्ण पाठ दिन सक्ने धारणा व्यक्त गर्नुभयो ।
सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्राको ऐतिहासिक मोडको रूपमा प्रस्तुत गर्नुभयो । शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत सङ्घीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्ग प्रशस्त गरेको छ, उहाँको भनाइ थियो ।
जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याउनुभयो। सभामुखले शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति हो भन्ने कुरामा जोड दिनुभयो ।
समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उहाँले विश्वसामु प्रस्तुत गर्नुभयो । सभामुखले सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुनः दोहर्याउँदै सबै राष्ट्रहरूलाई सहकार्य र समझदारीबाट अघि बढ्न आह्वान गर्नुभयो ।
शान्ति उपहार होइन यो एउटा लक्ष्य हो, उहाँको भनाइ थियो, शान्तिको प्रवर्द्धनका लागि सामूहिक र सृजनशील प्रयास आवश्यक छ ।
प्रतिक्रिया राख्नुहोस्