इम्प्याक्ट म्याराथनमा ३० विदेशीसहित ३ सय ४ जना खेलाडी सहभागी
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ बतासेमा आयोजित इम्प्याक्ट म्याराथन सम्पन्न भएको ।
इम्प्याक्ट म्याराथन र टार्गेट हिमालयको संयुक्त आयोजनामा भएको म्याराथनमा ३० जना विदेशीसहित ३०४ जना खेलाडीहरूको सहभागिता रहेको थियो ।
म्याराथनमा ४२ किलोमिटर पुरुषतर्फ लुके रोभर्ट पहिलो हुनुभयो । त्यस्तै दिपाकर शाह दोस्रो र बेन चिल्भेर्स तेस्रो हुनुभयो ।
महिलातर्फ ४२ किलोमिटरमा सोइ स्कोरिक पहिलो, कोमा दोस्रो र चारु तेस्रो हुनुभयो । प्रतियोगितामा २१ किलोमिटर पुरुषतर्फ सुप्रिन तामाङ पहिलो, निखिल तामाङ दोस्रो र रन सिंह तेस्रो हुनुभयो । महिलातर्फ रेचेल लमन पहिलो,जुडित व्रुनसेल्स दोस्रो र लिलिन पेलुके तेस्रो हुनुभएको टार्गेट हिमालयका अध्यक्ष सुजन तामाङले जानकारी दिनुभयो ।
म्याराथनको १० किलोमिटर पुरुषतर्फ सुदिप तामाङ पहिलो,रमेश तामाङ दोस्रो र सुजन तामाङ तेस्रो हुनुभयो भने पहिलातर्फ सुस्मिता तामाङ पहिलो,पासाङ तामाङ दोस्रो र गंगा तामाङ तेस्रो भएको आयोजकले जनाएको छ ।
म्याराथनमा सहभागी खेलाडी गंगा तामाङले स्वदेशी तथा विदेशी अन्य अनुभवी खेलाडीहरूसँग दौडिन पाएको खुशी व्यक्त गर्नुभयो । उहाँले यसभन्दा अघि पनि सहभागी हुने गरेको स्मरण गर्दै यस म्याराथनले थप अनुभव बटुल्न पाएको बताउनुभयो । त्यस्तै काठमाडौँबाट सहभागी मनिस जंग थापाले पनि सहभागी हुन पाउँदा खुशी लागेको बताउनुभयो ।
स्वास्थ्य र पर्यटनका लागी दौड भन्ने नारासहित आयोजना गरिएको म्याराथन मेलम्ची नगरपालिका वडा नम्बर ६ र आसपास रहेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने र म्याराथनमा स्थानीयलाई समेत सहभागिता गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको टार्गेट हिमालयका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
मेलम्ची नगरपालिकाको धौले, थानकुन भन्ज्याङलगायत पर्यटकीय स्थलहरूको परिक्रमा गर्दै म्याराथन गराइएको थियो । तीन समूहमा विभाजन गरिएको म्याराथनमा स्थानीय युवा विद्यार्थीहरूको लागि १० किलोमिटर,स्थानीय युवा तथा स्वदेशी एवम् विदेशी खेलाडीहरूको लागी २१ किलोमिटर र अन्य खेलाडीहरूले ४२ किलोमिटरको दौडिएका थिए ।
सहभागी खेलाडीहरूलाई पूर्व मन्त्री एवम् सङ्घीय सांसद मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ (समीर) लगायतले प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्