मह बेचेर मनग्य आम्दानी गर्दै रूपबहादुर
मुगु । मुगु छायाँनाथरारा नगरपालिका वडा न-६, लिउडी गाउँका बासिन्दा रूपबहादुर सेजुवालले आफ्नो पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्। रूपबहादुरले आफ्ना बाबुले थालेको मौरीपालन पेसालाई आधुनिक स्वरूप नदिई पुरानै परम्परागत काठे घारको प्रयोग गरी निरन्तरता दिइरहेका छन्।
रूपबहादुरका अनुसार, उनी कुनै पनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक सहयोग वा प्राविधिक समर्थन नपाएर पनि मौरी पालनलाई निरन्तर अगाडि बढाइरहेका छन्। उनले भने, “बाबुको सीप र क्षमताको प्रयोग गरेर व्यवसायलाई साकार पारेको छु। म आफैँले यस पेसालाई निरन्तरता दिएको हुँ, तर कुनै निकायबाट सहयोग नपाउनु दुःखद् छ।”
परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानीय तथा सदरमुकामका ग्राहकहरूले निकै रुचाएका छन्। ग्राहकहरू मह किन्नका लागि रूपबहादुरको घरमै आइपुग्ने गरेका छन् । ” महका लागि ग्राहकहरू टाढाबाट पनि आउने गर्दछन् र वर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेको छु त्यसैबाट घरका दश जनाको परिवारको खर्च व्यवस्थापन गरेको छु “उनले थपे।
सदरमुकामबाट टाढा अवस्थित उच्च हिमाली बस्ती लिउडी गाउँमा रहेका रूपबहादुरका लागि यो पेशा केवल आम्दानीको स्रोत मात्र नभई पुर्ख्यौली संस्कृतिको एक नमुना पनि बनेको छ। परम्परागत काठे घारमा मौरी पालनको सुरुवात उनका बुबाले गरेका थिए, जसलाई अहिले रूपबहादुरले निरन्तरता दिँदै आएका छन्।
बिकट बस्तीको कठिनाइका बाबजुद पनि रूपबहादुरको व्यावसायिक उत्साह र परिश्रमले गाउँमा मौरी पालनको उदाहरणीय नमूना प्रस्तुत गरेको छ।
प्रतिक्रिया राख्नुहोस्