तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न परिवारलाई घर बनाइदिँदै राप्तीसोनारी

नेपालगन्ज । आर्थिक स्थिति कमजोर भएका सर्वसाधारण नागरिकका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकाले घर बनाइदिन थालेपछि त्यस्ता समुदायका नागरिकहरूले नयाँ घर पाउने भएका छन् । विशेष अनुदान अन्तर्गत राप्तीसोनारी गाउँपालिकाले विपन्न आवास कार्यक्रममार्फत लक्षित समुदायको छनौट गरी उनीहरुलाई नयाँ घर बनाइदिन सुरु गरेको हो ।  आर्थिक रूपले विपन्न समुदायका मानिसहरूलाई नयाँ घर बनाइदिएर जेठ मसान्तभित्र हस्तान्तरण गर्ने कार्यक्रम छ । 

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ धरमोतीकी गंगा विकमा नयाँ घर पाउने भएपछि खुसीको सीमा छैन । उहाँको परिवार अहिले धरमोतीमा कोठा भाडामा लिएर बस्दै आएको छ । टिनको छानो भएको तर सिमेन्टको खम्बा ठड्याएको दुई कोठाको घरमा बस्न पाउने भएपछि गङ्गाको मुहारमा छुट्टै खुसी छाएको छ । गाउँपालिकाले दुई कोठे पक्की घर बनाइदिने भएपछि उहाँले बर्षौंदेखि अर्कैको घरमा कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । ‘सम्पत्तिको नाममा १२ धुर जग्गा छ । सासु आमा क्यान्सर पीडित हुनुहुन्छ । श्रीमानको मजदुरीले साँझ बिहानको जोहो टरेको छु उहाँ अगाडि भन्नुहुन्छ–‘भाडामा बस्दा कोठा बिजुली बत्ती गरेर महिनाको दुई हजार खर्च हुन्छ । आफ्नै घर हुने भएपछि त्यो दुई हजार पनि बचत हुने भयो । आफ्नै घरमा बस्ने सपना पनि पूरा हुने भयो ।’ 

गंगा जस्तै घर नभएर अरूको घरमा बस्नुपर्ने बाध्यता भएका परिवार र साँघुरो, होचो, फुसको छानो अनि बाँसको बेरा भएको घरमा बस्दै आएका विपन्न समुदायलाई प्राथमिकतामा राखेर पालिकाले घर बनाइदिन थालेको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । गंगा विकको घरको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष पौडेलले पालिकामा विपन्न आवास कार्यक्रम सुरु भएको बताउनुभयो । उहाँले संविधान प्रदत्त आवास पाउनुपर्ने नागरिकको हकलाई पालिकाले कार्यान्वयन गरेको बताउनुभयो । चालू आर्थिक वर्षमा गंगा विकलाई जस्तै ५२ वटा घर गाउँपालिकाले बनाइदिन थालेको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो–‘यो वर्ष हामीले ५२ वटा घर बनाउँदै छौँ । यो हाम्रो आफ्नै कार्यक्रम हो तर केन्द्र सरकारको सहयोग छ ।’ विपन्न र आयस्तर कमजोर भएका परिवारको पहिचान गरेर विपन्न आवास कार्यक्रम कार्यान्वयनमा ल्याइएको उहाँले बताउनुभयो । 

नयाँ घर पाउनेहरूमा आदिवासी, दलित तथा पिछडिएका समुदायका परिवारहरू रहेको गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले बताउनुभयो । उहाँले घरहरू गुणस्तरीय र भरपर्दो बनाउन निर्माणको जिम्मा पाएका ठेकेदारलाई निर्देशन समेत दिनुभयो । गाउँपालिकाका असिस्टेन्ट प्राविधिक दुर्गा केसीले चालू आर्थिक वर्षमा ९ वटै वडामा ५२ वटा घर बनाउन लागिएको बताउनुभयो । उहाँले विशेष अनुदानको २ करोड ८० लाखको लागतमा घरहरू निर्माण गरिने बताउनुभयो । एउटा घरको लागत ५ लाख ३७ हजार ५५५ रुपैयाँ रहेको उहाँले बताउनुभयो । त्यसमा बरण्डा, दुई वटा पक्की कोठा र छानो जस्तापाताको हुनेछ । शौचालय पनि त्यसैबाट निर्माण गरिनेछ । तर, शौचालयको सेफ्टी ट्याङ्की भने घरधनीले बनाउनुपर्ने उहाँले बताउनुभयो । 

आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी भुवरभवानी निर्माण सेवा र सौगात कन्स्ट्रक्सन ठाकुरबाबा बर्दियाले घर निर्माणको ठेक्का लिएका छन् । भुवरभवानीले २१ वटा र सौगातले ३१ वटा घर बनाउनेछन् । सौगातले वडा नं।३, ४, ५, ६ र ७ मा ३१ वटा र भुवरभवानीले वडा नं।१, २, ८ र ९ मा २१ वटा घर बनाउने सम्झौता छ । भुवरभवानी निर्माण सेवाका सञ्चालक सुरेन्द्र पौडेलले सम्झौता अवधिमै घरहरू निर्माण गरेर हस्तान्तरण गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो–‘गाउँपालिकासँग भएको सम्झौता अनुसार निर्माण सकेर जेठ मसान्तभित्र सबै घर हस्तान्तरण गर्छौं । गुणस्तरमा कुनै सम्झौता हुँदैन ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button