कोरोना जाँच प्रभावकारी बनाउन मुख्यमन्त्री शाहीको निर्देशन
सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिनुभएको छ ।
कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण गर्न शनिबार त्यहाँ पुग्नुभएका उहाँले दैनिक सयौँ यात्रुहरु प्रवेश गर्ने उक्त स्थानका लागि जनशक्ति व्यवस्थापन र आवश्यक संरचना तत्काल तयार गर्न सामाजिक विकास मन्त्रलाय, स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाही र जनस्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रीता भण्डारी (जोशी)लाई निर्देशन दिनुभएको हो ।
उहाँले कोरोना जाँचका लागि प्रहरी बिट सरकारले तत्काल निर्माण गर्ने बताउनुभयो । सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्यको आवश्यक संरचना र जनशक्तिका लागि चाहिने आवश्यक बजेट व्यवस्थापन तत्काल गर्ने बताउनुभयो ।
प्रदेश अस्पतालमा आइसोलेशन र क्वारेन्टाइन कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोना भाइरसको सङ्क्रमण देखिएमा आइसोलेशन र क्वारेन्टाइनको व्यवस्था गरेको जनाएको छ ।
शनिबार मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री रावलसहित सरोकारवालाले गरेको निरीक्षण तथा अनुगमनका क्रममा प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट प्राडा डम्बर खड्काले आइसोलेशन र क्वारेन्टाइन दुवै तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाहीले कोरोनाविरुद्ध गर्ने प्राविधिक तयारी पूर्णरूपले गर्न अस्पताल परिवारसँग आग्रह गर्दै आवश्यक बजेट प्रदेश सरकारले उपलब्ध गराउने जानकारी दिनुभयोे ।
सामाजिक विकासमन्त्री रावलले मन्त्रालयले कोराना सङ्क्रमण समस्या समधानका लागि रु ५० लाख छुट्याएको बताउनुभयोे । अस्पतालमा क्वारेन्टाइन जाँचका लागि ११ कार्डियाक मनिटर राखिसकिएको र तत्काल १५० श्यया राख्ने तयारी गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्