कालिकोटमा बन्यो ५० शय्याको सुविधायुक्त अस्पताल भवन
जुम्ला । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला कालिकोटमा वर्षौँपछि सुविधायुक्त अस्पताल भवन निर्माण भएको छ । टहराकै भरमा सञ्चालन हुँदै आएको जिल्ला अस्पताल कालिकोटले वर्षौँपछि आफ्नै सुविधायुक्त भवन पाएको हो ।
करिब ३६ करोड लगानीमा निर्माण भएको ५० शय्या सुविधायुक्त अस्पताल भवनको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गर्नुभएको छ । साविक कर्णालीका कालिकोट,मुगु र जुम्लाको भ्रमणमा निस्किएका मुख्यमन्त्री कँडेलले सोमबार कालिकोट जिल्ला अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्नु भएको हो ।

नयाँ पक्की अस्पताल भवन बनेसँगै जिल्ला अस्पताल कालिकोट टहरामुक्त मात्र बनेको छैन । भौगोलिक रुपमा विकट कालिकोटका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उचित वातावरण पनि बनेको छ । सुविधायुक्त अस्पताल भवन बनेपछि कालिकोटवासी उत्साहित छन् । अस्पतालमा चाहिने उपकरण र थप दक्ष जनशक्ति व्यवस्थापनमा सङ्घीय सरकार र प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने कर्णालीवासीको माग छ ।
स्थापना कालदेखि नै साँघुरो र टिनको टहरामा सेवा प्रवाह गरिरहेको अस्पतालमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकै लगानीमा नयाँ भवन बनेको हो ।
वर्षौँदेखि भवन अभाव झेलेर गुणस्तरीय सेवा प्रवाहमा कठिन परिस्थितिको सामना गरिरहेको कालिकोट अस्पतालले अव खुसीको साहस फेर्दै ढुक्कले सेवा प्रवाह गर्ने जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.भीष्म पोख्रेलले बताउनुभयो । उहाँका अनुसार भवन अभावमा अस्पतालले बिरामीलाई गुणस्तरीय सेवा दिन सकेको थिएन । तर नयाँ भवनबाट सेवा दिन थालेपछि बिरामी तथा चिकित्सकहरूलाई पनि सहज भएको छ ।
करिब २६ करोड रुपैयाँको लागतमा ५० शय्याको भवन निर्माण भएको हो । नयाँ भवन बनेपछि विशेषज्ञ चिकित्सकको पूर्ति गरिनुका साथै एम्बुलेन्स, रक्त बैङ्क र अन्य उपकरण उपलब्ध गराइने मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभयो ।
आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छौ । उहाँले भन्नुभयो,‘भवन राम्रो,पक्की भएर मात्रै नागरिकले सेवा पाउँछन् भन्ने होइन । अब नागरिकको विश्वास जित्नेगरी काम गर्नुपर्ने बेला आएको छ । सामान्य खालका बिरामी पनि उपचार नपाएर फर्किने स्थितिको अन्त्य हुनुपर्छ । प्रदेश सरकार सधैँ साथमा छ ।’
गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा नहुँदा नागरिकमा निराशा बढेकाले उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरेर गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्नेमा जोड दिए । उनले कालीकोट जिल्ला अस्पताल रेफर अस्पतालको रुपमा नभइ भरपर्दो सेवा दिने अस्पतालकोरुपमा विकास हुनुपर्ने उल्लेख गर्नुभयो ।
२०४५ मा स्वास्थ्य केन्द्रकोरुपमा स्थापना भएको कालीकोट अस्पतालले ०६१ मा १५ शय्याको स्वीकृति पाएको थियो । भने २०७१ मा ५० शय्याको मान्यता पाएको छ । तर, अस्पताललाई दरबन्दी र बजेट ३० शय्याको लागि मात्र सेवा सुविधा आउने भएकाले अस्पताल सञ्चालनमा बजेट अभाव हुने गरेको अस्पतालले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्