विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी
बाँके । मङ्सिर: विश्व म्याराथन मञ्चमा नेपालको दाबेदारी प्रभावशाली देखिएको छ । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को २५ औँ वर्ल्ड कङ्ग्रेस आयोजनाका लागि नेपालगञ्ज म्याराथनले नेपालमा आयोजना गर्न दाबेदारी प्रस्तुत गरेको थियो ।
नर्वेले ८५ मत पाउँदा नेपालका तर्फबाट नेपालगञ्ज म्याराथन ६७ मत प्राप्त गर्न सफल भएको छ । भियतनामको हनोइमा जारी २४औँ वर्ल्ड कङ्ग्रेसका दौरान आज भएको मतदान प्रक्रियाबाट २०२६ मा हुने पच्चीसौं वर्ल्ड कङ्ग्रेस नर्वेमा हुने निर्णय गरियो । “दस मिनेटको भिडियो प्रस्तुतिले सबैलाई नेपालप्रति लोभ्यायो”, नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायमा केही ‘लबिङ’ पनि जरुरी हुँदो रहेछ, त्यसमा हामी चुक्यौँ ।”
नर्वेले आसन्न कङ्ग्रेस आयोजनाको अवसर पाए पनि सभाहलमा नेपाल धेरैको सहानुभूति बटुल्न सफल भएको ठकुरीले बताउनुभयो । “नेपाललाई विश्व मञ्चमा नोटिस गराउन सफल भइयो, यसमा खुशी लागेको छ”, उहाँले भन्नुभयो, “प्रयास गर्नेले नै जित्ने हो, हामीले एक कदम अगाडि बढेका छौँ, सबैको मायाले यो ऊर्जा मिलेको हो, नेपालगञ्ज म्याराथन सम्बद्ध सबैप्रति कृतज्ञ छ ।”
संसारमै लोकप्रिय इभेन्ट म्याराथनलाई आधिकारिकता दिने साझा संस्था एम्स हो । एम्समा आबद्ध हरेक देशका म्याराथन आयोजक यतिबेला हनोइमा उपस्थित भएका छन् । धारा नेपालगञ्ज म्याराथनको दशौं संस्करण यही मङ्सिर २२ गते हुँदैछ ।
प्रतिक्रिया राख्नुहोस्