तपाईँ सुन्दै हुनुहुन्छः

थारु कल्याण कारिणीको २३ औँ राष्ट्रिय अधिवेशन रुपन्देहीमा हुने

रुपन्देही । थारु कल्याण कारिणी सभाको २३ औँ राष्ट्रिय महाधिवेशन रुपन्देहीको भैरहवामा हुने भएको छ ।

महाधिवेशन मङ्सिर १ देखि ३ गतेसम्म भैरहवास्थित पटवा बैंक्वेटमा हुने सभाले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

‘थारुहरूको चाहना, न्याय, पहिचान, अधिकार र पूर्ण समानुपातिक समावेशी सहितको संघीय राज्य व्यवस्था’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनको शनिबार (भोली) उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुहुने थारु कल्याण कारिणी सभाका सह–महामन्त्री मिनराज चौधरीले बताउनुभयो ।

सह–महामन्त्रीका अनुसार सभाका केन्द्रीय अध्यक्ष ई. धनिराम चौधरीको संयोजकत्वमा मूल आयोजक समिति र कार्यवाहक अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीको नेतृत्वमा रहेको मूल आयोजक समिति मातहत गठन भएका विभिन्न तयारी उपसमितिले तोकिएको जिम्मेवारी अनुरुप महाधिवेशनको सम्पूर्ण तयारी गरिसकेको छ ।

‘बन्द सत्रमा राष्ट्रिय महाधिवेशनमा सभाको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु एवं थरुहट तराईको पश्चिम जिल्ला कञ्चनपुरदेखि पूर्व झापा, कास्की, काठमाडौँ, उपत्यकासहित २६ जिल्ला र प्रवास (विदेश) शाखा जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, दुबई, कतार, मलेसिया (६ शाखा), सभाको भातृ संस्था थारु कानून व्यवसायी सभा, महिला सभा, युवा सभा र विद्यार्थी सभा गरी ४ संस्थाबाट करिब ३ सय जना केन्द्रीय प्रतिनिधि/पार्षद्हरूको सहभागिता रहनेछ, ’चौधरीले भन्नुभयो ।

महाधिवेशनको कार्यक्रम अन्तर्गत मङ्सिर १ गते शनिबार बिहान ९ बजे बुद्ध चोकबाट पटवा बैंक्वेटसम्म झाँकी र्‍याली प्रदर्शन गरिने उहाँले बताउनुभयो । त्यस्तै महाधिवेशनको दिउँसो १ बजे उद्घाटन हुने चौधरीले जानकारी दिनुभयो । २३ औँ राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका अनुसार महाधिवेशनले मङ्सिर ३ गते सिद्धार्थनगर रुपन्देही घोषणा पत्र जारी गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button