बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा दोस्रो मेयर कपको उद्घाटन
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मङ्गलवार रत्ननगरमा दोस्रो मेयर कप तथा चौँथो ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गर्नुभएको छ ।

पूर्वी चितवन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगिता मुख्यमन्त्री लामाले एक औपचारिक कार्यक्रमबिच उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले खेलकुदको विकासका लागि प्रदेश सरकारले लगानी बढाउने बताउनुभयो । खेलकुदले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भन्दै खेलकुदको विकासको लागि प्रदेश सरकारले लगानी बढाउँदै लगेको बताउनुभयो ।
खेलकुदले युवाहरूलाई कुलतमा फस्नबाट जोगाउने भन्दै मुख्यमन्त्री लामाले राष्ट्रनिर्माणमा खेलकुदको विशिष्ट योगदान रहेको बताउनुभयो । असोज तीन गतेसम्म चल्ने सो प्रतियोगिता उद्घाटन कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, सांसद छत्र बमजन, रत्ननगरका मेयर प्रह्लाद सापकोटा, कालिकाका मेयर विनोद रेग्मी, रत्ननगरका उपमेयर यादवप्रसाद पाठक लगायतको सहभागिता थियो । रत्ननगर वडा नं–३, शान्तिचोकस्थित कभर्ड हलमा प्रतियोगिता सुरु भएको हो ।
राष्ट्रिय स्तरको सो प्रतियोगिता विभिन्न छ वटा विधामा खेलाइने प्रतियोगिताका संयोजक केवल न्यौपानेले जानकारी दिनुभयो । राष्ट्रिय स्तरमा २० भन्दा बढी वरीयता क्रममा रहेका खेलाडी सहभागी रहने उक्त प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १११, द्वितीय हुने टिमलाई ५१ हजार १११ र तृतीय हुने टिमलाई २५ हजार १११, बी लेबल खुल्लातर्फ प्रथम हुने टिमलाई ४१ हजार १११, द्वितीय हुने टिमलाई २१ हजार १११ र तृतीय हुने टिमलाई ११ हजार १११ पुरस्कार प्रदान गरिने संयोजक न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी, भेट्रान्स ४५ वर्ष उमेर समूह माथिको खेलमा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, सुपर भेट्रान्स ५५ वर्ष उमेर समूहमाथि प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, राष्ट्रियस्तरमा १० भन्दामाथि महिला खुल्लामा प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११, जनप्रतिनिधितर्फ प्रथम हुने टिमलाई ३१ हजार ११, द्वितीय हुने टिमलाई १५ हजार १११ र तृतीय हुने टिमलाई ७ हजार १११ प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न १५ लाख ३७ हजार ३३१ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा करिब २०० टिमको सहभागिता रहने क्लबका उपाध्यक्ष राजु भट्टराईले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्