नजिकिँदै चौरचन पर्व: माटाका भाँडाका माग र बिक्रि बढ्यो
सुनसरी । गणेश चतुर्थी अर्थात् ( चौरचन पर्व ) नजिकिएकाले सुनसरीमा माटाका विभिन्न भाँडाको माग र बिक्री बढेको छ । नेपाली बजार लगायत सीमापारि भारतीय ग्राहकबर्गमा समेत चौरचन पर्वकालागि स्थानीय उत्पादनको माटाका भाँडाहरूको बिक्री बढेको हो ।
सुनसरीको दुहबी सहित इनरुवा, इटहरी, लौकही, भोक्राहा, नरसिंह, भुटाहा, हरिनगराको मुख्यचोक र हटियामा अहिले साप्ताहिक हटियाको दिन मात्र नभई दिनहुँजसो माटाका भाँडा बिक्री हुँदै आएको छ ।

सांस्कृतिक पर्वमा आवश्यक पर्ने भाँडा माटाकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटाका भाँडा बनाउने कुम्हालेको व्यस्तता निकै बढेको छ । तराई क्षेत्रमा माटाका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।
विभिन्न स्थान र सीमावर्ती बजारमा चौरचन पर्व लागि माटोका दियो, चौमुखे दिप, पाला, माटोको ढकना, माटोको छ्याँची लगायतका भाँडाको बिक्री बढेको स्थानीय श्रीप्रसाद पण्डितले बताउनुभयो । पण्डितले पहिले पहिले त हाम्रो गुजाराको पेशा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको गुनासो गर्नुभयो ।
यहाँका पण्डित कुम्भकार(कुमहार)हरुले यो समयलाई आफ्नो पर्वभरिको आम्दानी गर्ने सिजनका रुपमा समेत लिने गरेका छन् । नेपाली कुम्भकारहरू कम भएको र केहीले पेशानै छाडेकाले नेपाली बजारमा माटोको भाडा समेत भारतीयसँग भर पर्नुपरेको कुम्हार समुदाय दुहबी १० सिमारियाका मनोज पण्डितले जानकारी दिनुभयो ।
उता केही नेपाली कुमालहरूले पुर्ख्यौली पेशा छाडेका कारण भारतीय उत्पादनले नेपाली बजार लिएको दाबी गर्छन् भने केही कुमालले माटोको भाडा विक्रीका लागि हितार र छठ तथा चौरचन्द नै पखर्नुपर्ने भएकाले सङ्कटमा परेको बताएका छन् ।

पुस्तौँदेखि गर्दै आएको काम आधुनिकताले सङ्कटमा परेपछि नेपाली कुमाल अहिले जीविकोपार्जन गर्न अन्य पेशा गर्न थालेपछि भारतीय सीमावर्ती बजारका कुमालहरूले माटोका भाँडा नेपाली बजारमा बेच्ने गरेका छन् ।
भोलि अर्थात् शुक्रवार मनाइने चोरचन पर्व पिठोको लेदोले बनाइएको चतुष्कोण वेदीमा दीप प्रज्ज्वलन गर्दै ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने मैथिल परम्परा छ । खासगरी खिर, दाल र चामलको पिठोबाट बनाइने पुरी,दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल चंन्द्रमालाइ देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण यज्ञस्थलमै बसाएर प्रसाद ख्वाएपछि चौरचन पर्व सम्पन्न गरिन्छ ।
हिन्दू मैथिली परम्परामा नाद्र शुक्ल चौथीका दिनको चन्द्र दर्शन दोषपूर्ण हुने भएकाले सो दोष मेटाउन घरमुली महिलाले दिनभर निराहार व्रत बसी साँझ चन्द्रमालाई मिष्ठान्न परिकार र फलफूल देखाएर दोष मेट्ने प्रचलन चलेको यस क्षेत्रका संस्कृति परम्पराका ज्ञाता बताउँछन् । मिथिलाको महत्वपूर्ण पर्वमध्ये पर्ने यो पर्व चन्द्र उदयको गणनाले चौथी पर्ने दिन मनाइने चलन रहेको मैथिली पण्डित जितेन्द्र ठाकुरले बताउनुभयो ।

भाद्र शुक्ल चौथीमा विधिपूर्वकको चन्द्रदर्शनले झूठो अबगाल कहिल्यै नलाग्ने, मित्रहरू बढ्ने र चन्द्रमाको कृपाले कान्ति बढ्ने तथा जीवनमा शीतलता प्राप्त हुने जनविश्वास रहिआएको छ ।
द्वापर युगमा सत्राजित परिवारको श्यमन्तक मणि हराउँदा श्रीकृष्णलाई ’बात’ लागेको र श्रीकृष्णले अबगाल मेट्न चन्द्रव्रत गरेलगत्तै मणि जाम्ववानकी छोरीसँग भेटिएको प्रसङ्ग श्रीमद्भागवत महापुराण र कृष्णलिला काव्यमा वर्णित छ । त्यसै बेलादेखि चोरचन पर्व परम्परा चलेको जन विश्वास गरिन्छ ।







प्रतिक्रिया राख्नुहोस्