तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासी प्रहरीद्वारा एक हप्तामा १ सय २४ जना फरार प्रतिवादी पक्राउ 

नवलपरासी,पश्चिम् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले एक हप्तामा १ सय २४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । फरार प्रतिवादीलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत परासीमा पेस गरिएको प्रहरीले जानकारी दिनुभयो ।
भदौ ११ गते १७ जना, १२ गते १६ जना, १४ गते २५ जना र १७ गते १८ जना र भदौ १८ गते २० जना गरि १ सय २४ जना फरार प्रतिवादीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनु भयो । “सम्मानित अदालतको फैसला कार्यान्वयनका क्रममा प्रहरीले अहिले फरार प्रतिवादीहरू पक्राउ गर्ने अभियान नै सञ्चालन गरिएको छ । ” बोहराले भन्नुभयो ।
अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गरि जिल्ला तथा मातहतका प्रहरी कार्यालयहरूबाट प्रहरी टोली नै बनाइ खटाइएको बोहराले उल्लेख गर्नु भयो ।
पछिल्लो समय पक्राउ पर्नेहरूमा गाली बेइज्जती, लुटपाट, बाली बिगो, बहु विवाह, कुटपिट, चेक अनादर, जबर्जस्ती करणी , कर्तव्य ज्यान , जाल साजी, सवारी ज्यान, सवारी अङ्गभङ्ग, लागु औषध, डाँका चोरी, चेक अनादरलगायतका मुद्दामा फरार रहेका प्रतिवादीहरू पक्राउ परेका छन् ।
प्रहरीले आर्थिक वर्ष २०८०/०८१ मा समेत फैसला कार्यान्वयन तर्फ ५ सय ९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । भने १ सय ७९ वर्ष ९ महिना २१ दिन कैद तथा ६६ लाख ५८ हजार ६ सय ५१ जरिवाना असुल भएको नवलपरासी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button