तपाईँ सुन्दै हुनुहुन्छः

यो सरकार प्रचारबाजी होइन, काम गर्न आएको हो : मन्त्री डा राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनुभएको छ । 

राहदानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको हो ।”

नेपाली कांग्रेस र नेकपा (एमाले) यो देशमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेका तथा दुवै दलका नेताहरूले धेरै कुरा बुझेर र देशको आवश्यकता हेरेर नै सहकार्य गरेकाले यो सरकारको स्थायित्वका बारेमा प्रश्न नगर्न मन्त्री डा राणाको आग्रह थियो । 

एक प्रश्नको जवाफमा मन्त्री डा राणाले नयाँ बनेको सत्ता समीकरण कुनै एक व्यक्तिका कारणले नभएर मुलुकका दुई ठूला दलले आवश्यकताको बोध गरेर निर्माण भएको स्पष्ट गर्नुभयो । हिजो मात्र प्रधानमन्त्री केपी ओलीले यस विषयमा स्पष्ट गरेको स्मरण गर्दै उहाँले सरकार ढल्छ भन्ने या अरू कुनै पनि कारणले काममा ढिलासुस्ती गर्ने तथा नागरिकलाई डेलिभरी दिने काममा ढिला गर्ने छुट सरकार र कर्मचारी कसैलाई नभएको स्पष्ट गर्नुभयो ।

मन्त्री डा राणाले कहीँ कतै प्रमाण या उजुरी नहुँदा नहुँदै पनि आफ्नो नाममा विभिन्न काण्ड खडा गरेर जोड्ने गरिएकामा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “कतै तथ्य छैन, कुनै गल्ती गरेको अवस्था छैन । तर पनि कतिले सोसियल मिडिया त कतिले मिडियाबाट नै मेरो नाम मुछ्ने गरेका छन् ।” उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा जसले आफ्ना विरुद्ध बयान दियो भनेर दुष्प्रचार गरियो उसैले पछि मलाई चिन्दिन भनेको प्रसङ्ग उल्लेख गर्दै अनावश्यक रूपले आफ्नो नाम जोड्न लगाइएको र एक किसिमले भन्दा मिडिया ट्रायल नै गरिएको आफ्नो अनुभव रहेको बताउनुभयो ।

टीकापुर जग्गा प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा मन्त्री डा राणाले  भन्नुभयो “म यहाँहरूलाई अनुरोध गर्छु कि यो सूचनाको हक भएको देश हो, यहाँहरू फिल्डमै जानुस् र के हो भन्ने तथ्य आफैँ थाहा पाउनुहोस्, कहीँ कतै मेरो गल्ती देख्नुभएछ भने म यहाँहरूसँग त्यति बेलै कुरा गरौँला ।” उहाँले भन्नुभयो “कस्तो दुष्प्रचार होला हेर्नु त ! प्रहरीको बयानमा मेरो नाम लियो रे भनेर पहिला प्रचार गरियो, तर पछि सोही व्यक्तिले उहाँलाई मैले चिन्दिन, नाम नै सुनेको छैन भन्यो । यसलाई कहाँ सम्मको दुष्प्रचार भन्ने !?”

मन्त्री डा राणाले राहदानी र कन्सुलर सेवा प्रवाहको अध्ययन गरी यी दुवै सेवा नेपाली नागरिकका लागि अति आवश्यक र परराष्ट्रले दिनुपर्ने सबैभन्दा महत्वपूर्ण र संवेदनशील सेवा रहेकाले नेपाली नागरिकलाई केन्द्रमा राखेर काम गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button