नीतिगत भ्रष्टाचार देशको प्रमुख चुनौती : प्रदेश प्रमुख शेरचन

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख चुनौती भनेको नीतिगत भ्रष्टाचारको अन्त्य गर्नु रहेको बताउनुभएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत कानुनका विद्यार्थीहरूसँग अनुभव र अनुभूति साटासाट कार्यक्रममा
प्रदेश प्रमुख शेरचनले राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने परिपाटीको विकास गर्न युवाहरूलाई आग्रह गर्नुभयो ।
कानुनका विद्यार्थी भविष्यका सफल राजनीतिज्ञ बन्न सक्ने भन्नुहुँदै उहाँले विद्यार्थीहरूले सदैव आलोचनात्मक चेतको विकास गर्नुपर्नेमा जोड दिनुभयो । कानुनका विद्यार्थीले देशको लागि असल कानुन बनाउन सक्ने उल्लेख गर्दै प्रमुख शेरचनले योग्य र क्षमतावान् व्यक्ति संसद्मा पुग्न र पुर्याउनका लागि सबैको भूमिका आवश्यक रहने बताउनुभयो ।
विगतमा संविधानको अक्षरशः पालना नहुँदा कानूनी शासनको उल्लङ्घन भएको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले मुलुकमा कानून र संविधानको राम्रो अध्ययन गर्न सक्ने जनशक्ति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा लुम्बिनी ईन्टिग्रेटेड एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूले प्रदेश प्रमुखसमक्ष विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रममा उक्त एकेडेमीका प्राध्यापकहरूको समेत सहभागिता रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्