प्रतिनिधिसभा बैठक : बाढीका कारण देशैभर क्षतिका विषयमा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ I प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले देशका विभिन्न स्थानमा बाढीका कारण ठूलो जनधनको क्षति भएको, खासगरी कञ्चनपुर र कैलालीमा पुगेको क्षतिका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै समयमै राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसदहरुले अविरल वर्षाका कारण कति जनाको ज्यान गएको छ, कति हराइरहेका छन् र के कति क्षति पुगेको छ भन्ने विषयमा सरकार अनविज्ञ रहेको भन्दै देशैभर पुगेको क्षतिका विषयमा संसदमा जानकारी गराउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले वर्षाले क्षति पु¥याएका स्थानमा सरकारले हालसम्म कुनै राहतको व्यवस्था नगरेको भन्दै जसरी सरकारले यस्ता क्षतिबाट बच्नका लागि भनेर पूर्व तयारीका योजनाहरू बनाएको छ त्यसै अनुसार काम अगाडी बढाउन आवश्यक रहेको बताउनुभयो ।
सांसदहरुले चुरेको संरक्षण हुन नसक्दा तराइका विभिन्न जिल्लामा प्रत्येक वर्ष खेतीयोग्य जमिन डुबानमा परिरहेको भन्दै समयमै चुरे संरक्षण गर्न सकिएन भने खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले वर्षाका कारण अवरुद्ध दूरसञ्चार सेवा, खानेपानी, बाटोघाटो लगायतका अत्यावश्यक सेवाहरू सुचारु गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ) पेश गर्नुहुने । गर्ने कार्यसूची रहेको छ ।
यस्तै बैठकमा अर्थ मन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको “सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले “जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्