गर्मी छल्न नहरमा पौडी
बाँके । लामो समयदेखिको सुख्खा खडेरीले पश्चिम् तराइका बासिन्दा गर्मीले आक्रान्त परेका छन् । लामो समयदेखि पानी पर्न नसकेपछि उखरमाउलो गर्मीले पिरोलिएका छन् ।

गर्मी छल्न कोहलपुरका स्थानीय सिक्टाको नहरमा पौडी खेलेर दिन बिताउने गरेका छन् । बाँकेको कोहलपुर नगरपालिका अन्तर्गत हुँदै बग्ने सिक्टा सिँचाइको नहरमा गर्मी बढेसँगै दिनहुँ त्यहाँ पौडी खेल्नेको भिड लागेको हुन्छ।

कोहलपुरका युवायुवती र बालबालिका नहरको पानीमै खेलेर दिन बिताउँछन् । पानी त्यति सफा नभए पनि उनीहरू शीतल र रमाइलो मान्दै पौडी खेल्ने गर्छन् । पौडी खेल्न बालबालिकाहरूबिच प्रतिस्पर्धा नै चल्छ ।

बाँकेमा यसपटक ४३/४४डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेको छ । अत्यधिक तापक्रम बढेका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । चर्को गर्मीका कारण बजार क्षेत्रमा मानिसको चहलपहल कम भएको छ भने खुला आकाशमा काम गर्ने मजदुर बढी प्रभावित भएका छन् ।
बढ्दो तापक्रम र तातो हावाका कारण खटिरा आउने, शरीर चिलाउने, टाउको दुख्ने, रिङटा लाग्न, ज्वरो आउने लगायत स्वास्थ्यका समस्या देखिन थालेका छन् । बढ्दो गर्मीसँगै उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको शिक्षण अस्पताल कोहलपुरले जनाएको छ।
खडेरीले बालीनाली र पानीका स्रोत सुक्न थालेका छन् ।







प्रतिक्रिया राख्नुहोस्