तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक: सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसद सुरेशकुमार आले मगरले बजेटको प्रभावकारी कार्यान्वयन नहुँदा विकासले गति लिन नसकेको भन्दै बजेट कार्यान्वयनमा प्रशासनिक क्षेत्र इमान्दार हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद आनन्दप्रसाद ढुङ्गानाले प्रदेशमा राजनीतिक अस्थिरता बढेको भन्दै जनताको अपेक्षा अनुसार शासन, विकास र सेवा प्रवाहका काम हुन नसेको बताउनुभयो ।

 सांसद ढुङ्गानाले सङ्घीय शासन व्यवस्थालाई बलियो बनाउन आवश्यक ऐन कानून निर्माणमा तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद तुलसाकुमारी दाहालले जलवायु परिवर्तनले मुलुकमा गम्भीर असर पु¥याएको भन्दै अनुकूलताको लागि स्थानीयतहको सहभागिता वृद्धि गर्न र कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गोमादेबी तिमिल्सेनाले जेठ महिनाको मध्यतिर आएको हावाहुरीले कृषि उपजमा क्षति पु¥याएको भन्दै पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो  ।

सांसद राधेश्याम पासवानले मुलुकमा लोकतन्त्र आए पश्चात् राज्यको समानुपातिक समावेशी प्रतिनिधित्व प्रणाली मजबुत बनेको बताउनुभयो ।

सांसद नारायणदत्त भट्टले प्राप्त उपलब्धिको रक्षाका लागि सबै दलहरू एक ठाउँमा आउनुपर्ने भन्दै विवाद र मनमुटाबलाई आपसी छलफल समझदारीबाट टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

सांसद भट्टले मनसुनजन्य प्रकोपबाट हुने सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि ठोस रणनीति बनाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सोनाम गेल्जेन शेर्पा प्रस्तावक र जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाय, भगवती न्यौपाने, मदनकुमारी शाह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र शेखरकुमार सिंह समर्थक भई सूचना दिनुभएको सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ । 

यस्तै बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७‘ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्नुहुने कार्यसूची छ । 

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button