प्रतिनिधि सभाको बैठक भोलि सम्मका लागि स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक शोक प्रस्ताव पारित गरी भोली सम्मका लागि स्थगित भएको छ ।
बैठकले पूर्व सांसदहरु सूर्यमान गुरुङ, शैयाद मेहराज अहमद शाह र खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
यस अघि प्रतिनिधि सभाको बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक बजेट माथिको छलफलमा सांसदहरुले बोल्ने क्रम आज तेस्रो दिन पनि जारी रहेको थियो ।
अस्ति देखि जारी बजेट माथिको सैद्धान्तिक छलफलमा भाग लिने सांसदहरुले सक्ता पक्षका सांसदहरुले प्रस्तुत बजेट समय सान्दर्भिक रहेको उल्लेख गर्नुहुँदै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताउनुभयो ।

सांसदहरुले कार्यान्वयनको सीमा र समस्या औँल्याइएकाले बजेट सन्तुलित रहेको भन्दै उद्देश्य, प्राथमिकता, आर्थिक सुधारका रणनीति तोकेर आएको बजेटको कार्यान्वयन सहज हुने बताउनुभयो ।
यस्तै केही सत्ता पक्षका सांसदहरुले बजेट निर्माणका क्रममा सक्ता साझेदार दलहरुबीच पर्याप्त छलफल हुन नसक्दा अघिल्ला सरकारहरूले ल्याएका राम्रा र लोकप्रिय कार्यक्रमहरूलाई निरन्तरता दिन नसकेको समेत औँल्याउनुभयो ।
यस्तै विपक्षी दलका सांसदहरुले बजेटले देशको आर्थिक सुधारका लागि प्राथमिकताका क्षेत्रहरूको पहिचान गर्न नसकेको तथा वैदेशिक र आन्तरिक ऋणको भार बढेको हुनाले कार्यान्वयन हुन सक्नेमा आशङ्का व्यक्त गर्नुभयो ।
यस्तै केही सांसदहरुले बजेट महत्त्वाकाङ्क्षी रहेकाले यसको कार्यान्वयन भने चुनौतीपूर्ण रहेको, रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धनमा खर्चलाई केन्द्रित गर्ने तर्फ बजेटको ध्यान जान नसकेको र असारे विकासलाई परिवर्तन गर्ने कुरामा गम्भीर हुन नसकेको, वैदेशिक रोजगारीमा जनेलाई रोक्ने, ग्रामीण विकासको आवश्यकता पुरा गर्ने तर्फ समेत बजेटले समेट्न नसकेको धारणा राख्नुभयो ।
यस्तै सांसदहरुले आर्थिक चापबिच आकार, विश्वसनीयता र कार्यान्वयनको दृष्टिले सन्तुलित बजेट आएको, तयारी बस्तुको तुलनामा कच्चापदार्थको पैठारीमा करको दर कम गरिनुले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने र जनतामा आत्मविश्वास एवं आशा जगाउने बताउनुभयो ।
यसअघि प्रतिनिधि सभाको आजको बैठकको सुरुमा सांसदहरूले बाढी, पहिरो, डुबानको जोखिम न्युनिकरण गर्न, सरकारी विद्यालयको गुणस्तर सुधार गर्न, सरकारी कार्यालयका कामकाज र सेवा प्रवाहलाई प्रभावकारी बनाइन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा संसदहरुले वर्षायाम शुरु भएसँगै सम्भावित बाढी–पहिरो र डुबानको जोखिम न्युनिकरणका लागि पूर्व तयारी गर्न, दुर्गम क्षेत्रमा समेत सहज आवतजावतको व्यवस्था गन र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भोली बिहान ११ बजे पुनः बस्ने छ । बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले बोल्ने क्रम जारी छ ।








प्रतिक्रिया राख्नुहोस्