तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजका मुसहर समुदायलाई स्वास्थ्य र शिक्षाको पहुँचमा पुर्‍याउन महानगर सक्रिय  

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले वीरगंजका मुसहर समुदायलाई स्वास्थ्य र शिक्षाको पहुँचमा पुर्‍याउन महानगर ठोस कार्यक्रमका साथ अगाडि बढेको बताउनु भएको छ । 

वीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखाले महानगरका वडा नम्बर २२,२८ र ३२ को १ सय ७४ मुसहर घरधुरीमा गरेको स्थलगत सर्भेपछि आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले मुसहर समुदायको स्तरोन्नतिको लागि स्वास्थ्य मात्र नभई शिक्षाको क्षेत्रमा पनि लगानी गर्नु पर्ने कुरामा जोड दिनुभयो । 

उहाँले मुसहर समुदायका बालबालिका तथा युवाहरूलाई खेलकुद क्षेत्रसँग जोडेर शिक्षा तर्फ आकर्षित गर्न सकिने बताउँदै मुसहर समाजको आमूल परिवर्तनका लागि वीरगंज महानगरपालिका तथा सरोकारवाला संघ संस्थाको साथ र सहयोग आवश्यक रहेको कुरामा जोड दिनुभयो । 

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्तिनारायण साहले मुसहर समुदायको उन्नयनको लागि तीनै तहको सराकारको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारबाटै यो समुदायको स्तर उकासिने जानकारी दिनुभयो । 

कार्यशाला गोष्ठीमा मुसहर समुदायको स्तरोन्नतिका लागि नीतिगत सुझाव समेत दिइएको थियो । जसमा यो समुदायलाई निःशुल्क स्वास्थ्य बीमा, जन्मदर्ता, नागरिकता र लालपुर्जाको सुनिश्चितता, सर्वसुलभ स्वास्थ्य सेवा पहुँचको लागि निजी अस्पतालहरूसँग समन्वय र सहकार्य गर्ने, निःशुल्क एम्बुलेन्स सेवा, शौचालय, खानेपानी र ढलको व्यवस्था गर्ने लगायतका छन् । 

युनिसेफ नेपाल र महानगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मुसहर समुदाय अन्य समुदायको तुलनामा स्वास्थ्य र शिक्षाको पहुँचबाट टाढा रहेको कुरामा वक्ताहरूले जोड दिएका थिए । 

कार्यक्रममा युनिसेफ नेपालका प्रतिनिधि लिला खनालले सर्भेले वीरगन्जका तीन वटा वडाका मुसहर समुदायमा औसत विवाह उमेर १७ बर्ष, बच्चा जन्माउने औसत उमेर १९ बर्ष रहेको देखाएको बताउनु भयो । मुसहर समुदायमा बालविवाह दर ८० प्रतिशत, किशोरी गर्भवती दर ५१ प्रतिशत, संस्थागत सुत्केरी हुने दर ५५ प्रतिशत र घरमा खोप कार्ड नभेटिएको दर ४८ प्रतिशत रहेको समेत कार्यक्रममा तथ्याङ्क सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button