तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकार रेडियो नेपालसँग सहकार्य गर्न तयार छ: मुख्यमन्त्री सोडारी

धनगढी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीसँग रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी नेतृत्वको टोलीले भेटघाट गरेको छ । 

आज धनगढी स्थित सरकारी निवासमा मुख्यमन्त्री सोडारीसँग रेडियो नेपालका कार्यकारी निर्देशक केसी नेतृत्वको टोलीले भेटवार्ता गरेको हो । त्यसक्रममा मुख्यमन्त्री सोडारीले रेडियो नेपालको प्रसारण क्षमता अभिवृद्धिका  लागि सम्पूर्ण सहयोग रहने बताउनुभयो । उहाँले प्रदेश सरकार रेडियो नेपालसँग सहकार्य गरि अघि बढ्न तयार रहेको बताउनुभयो । 

भेटघाटमा रेडियो नेपालका कार्यकारी निर्देशक केसीले हाल रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र (कार्यालय) दिपायलसँगै प्रदेशको ८ जिल्लामा एफएम रिले स्टेसनमार्फत प्रसारण भइरहेको बताउनुभयो । उहाँले  रेडियो नेपालको प्रसारण क्षमता विस्तारका लागि आवश्यक सहयोग गरिदिनहुन मुख्यमन्त्री सोडारीसँग आग्रह गर्नुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालको प्राविधिक, समाचार, कार्यक्रम, व्यापार पक्षका साथै  प्रसारण सेवा क्षमता अभिवृद्धि सम्बन्धी प्रदेश सरकारसमक्ष पेश गरेको आर्थिक प्रस्तावबारे जानकारी गराउनुभयो। रेडियो नेपाल सरकारी सञ्चारमाध्यम भएपनि सार्वजनिक प्रसारण सेवाको काम गरिरहेको उहाँले बताउनुभयो ।

त्यसक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक (इन्जिनियरिङ) कृष्णचन्द्र पौडेल, योजना निर्देशक पुष्करराज गौतम, व्यापार  उपनिर्देशक पुष्कर बराल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button