तपाईँ सुन्दै हुनुहुन्छः

भाषा मर्न नदिन रेडियो नेपाल प्रतिबद्ध छ : सचिव सुवेदी 

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले नेपालमा प्रचलित मातृ भाषा मर्न नदिन समावेशीको अवधारणा अघि सारेको बताउनुभएको छ ।

रेडियो नेपालले दाङमा आयोजना गरेको समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण प्रविधि तालिम एवम् व्यापार प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको दोस्रो दिन सञ्चार सचिव सुवेदीले रेडियो नेपालबाट नेपालमा रहेका २२ भाषामा विभिन्न कार्यक्रम तथा समाचार प्रसारण हुने गरेको बताउनुभयो । उहाँले बिगत सात वर्षदेखि रेडियो नेपालले समावेशी प्रसार र सामग्री उत्पादनमा ध्यान दिन थालेको बताउनुभयो ।

उहाँले कानुन निर्माण गरेर रेडियो नेपाल र नेपाल टेलिभिजनलाई पब्लिक ब्रोडकाष्ट सर्भिसमा लैजाने तयारी गर्न लागेको र त्यसका लागि कानुन निर्माण प्रक्रिया अघि बढेको भन्नुहुँदै निकट भविष्यमा रेडियो नेपाल र नेपाल टेलिभिजन एकै थलोबाट प्रसारण हुने बताउनुभयो ।

पछिल्लो समय सूचना प्रविधि निकै अघि बढेको बताउनुहुँदै सचिव सुवेदीले रेडियो नेपालले पनि सोही अनुसार सूचना प्रविधिलाई आत्मसात गर्दै अघि बढेको र यसका लागि रेडियो नेपालका स्थानीय समाचारदातादेखि नीति निर्माण तहमा रहेका कर्मचारीले सूचना प्रविधिलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमको अवसरमा दाङ आउनुभएका सचिव सुवेदीले लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र हेमन्तापुरको निर्माणाधीन भवनको अवलोकन समेत गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो दिन पश्चिमा थारु भाषाको कार्यपत्र छविलाल कोपिला र अवधि भाषाको कार्यपत्र भगवानदास यादवद्वारा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button