तपाईँ सुन्दै हुनुहुन्छः

रिडी–तम्घास सडक विस्तार हुँदै  

गुल्मी । मदनभण्डारी राजमार्ग अन्तर्गत रिडी-तम्घास सडकको २५ किलोमिटर क्षेत्रमा अहिले स्तरउन्नतीको काम तीव्र रुपमा अगाडी बढेको छ । 

सडकमा कटिङ र स्तरउन्नतीको काम गर्न करिब २२ वटा जेसिबी डोजर प्रयोग गरेर काम भइरहेको छ । सडकमा सवारी साधनले काम गर्न अवरोध गर्नेभएपछि समय तोकेर बन्द गरेरै काम हुँदै आएको छ । अहिले भएको सडक निकै सानो र कालोपत्रे पनि भत्किँदै गएको थियो । त्यस सडकका ठूलो सडक बन्न थालेसँगै स्थानीय खुसी छन् ।

गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने मुख्य सडक भएकाले यो सडकमा सवारी साधनको चाप पनि उत्तिकै हुने गर्दछ । अहिले भएको सडक सानो हुँदा दुर्घटनाको जोखिम पनि बढी नै रहेको थियो । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । 

सडकको रिडीदेखि बलेटक्सारसम्म १३ किलोमिटर क्षेत्रमा सबै काम सकेर वर्षात अगावै ग्राभेल गरिने लक्ष्य लिइएको समान्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताउनुभयो । तम्घास भित्रिने मुख्य राजमार्ग भएकाले यसलाई तोकिएकै मितिमा सम्पन्न गर्नका लागि सबै पक्षले निकै चासोका साथ हेरिएको छ ।

मदन भण्डारी राजमार्ग गुल्मी खण्ड नभई अर्घाखाँची जिल्ला छोएर जाने रुट तयार भएको थियो । तर  गुल्मीबाट प्रतिनिधि गर्ने केन्द्रिय नेता भएको कारणले यो बाटो गुल्मीमा जोडिएको स्थानीय होमनाथ कँडेलले बताउनुभयो । उहाँले तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गुल्मी खण्ड छुने गरी पहल कदमी चालेको बताउनुभयो ।

२०७९ साल फागुन २८ गते सम्झौता भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । १ अरब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक स्तरउन्नती र कालोपत्रे गर्ने गरि ठेक्का सम्झौता भएको छ । सडकको वैशाखको अन्तिमसम्म ३५ प्रतिशत भौतिक प्रगति र ३० प्रतिशत वित्तीय प्रगति भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button