झापामा आठ लाख बढीले सेवन गरे हात्तीपाइले रोगविरुद्धको औषधि

झापा । झापामा यस वर्ष आठ लाखभन्दा बढी नागरिकले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार यही वैशाख १६ देखि ३० गतेसम्म सञ्चालित आम औषधि सेवन अभियानअन्तर्गत जिल्लाका १५ वटै स्थानीय तहका ८ लाख ४ हजार ७३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् ।
स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले अभियानअन्तर्गत बिर्तामोडमा सबैभन्दा धेरै १ लाख २० हजार ४४८ जना र भद्रपुर नगरपालिकामा सबैभन्दा कम ३२ हजार ५४८ जनाले औषधि सेवन गरेको जानकारी दिनुभयो ।
हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन ८० प्रतिशतभन्दा बढी औषधि सेवन दर आवश्यक रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर ८० प्रतिशत भन्दा कम रहेको स्थानमा १० दिन थप गरिएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताउनुभयो । कार्यालयले ९ लाख ६२ हजार ८६१ जनालाई औषधि सेवन गराउने लक्ष्य लिएको थियो । जिल्लामा औषधि सेवनका लागि ६०६ स्वास्थ्य स्वयंसेविका र ७५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
हात्तीपाइले रोग रगतमा बस्ने बिचेरिया ब्रानकोफ्री नामक परजीवीबाट लाग्ने गर्छ भने लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ ।







प्रतिक्रिया राख्नुहोस्