तपाईँ सुन्दै हुनुहुन्छः

मधेसी समुदायको उत्थानका लागि मधेसी आयोगको महत्त्वपूर्ण भूमिका : प्रदेश प्रमुख मियाँ

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मधेसी समुदायको उत्थानका लागि मधेसी आयोगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । मधेसी आयोगको आयोजनामा सोमबार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित मधेसी समुदायको सशक्तीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख मियाँले आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक गतिविधिहरूलाई समुदायको पहुँचमा पुर्‍याउन, समुदायमा जनचेतना बढाउन र समस्याहरूको पहिचान गरी राज्यको ध्यानाकर्षण गराउन आयोगले भूमिका खेल्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

सो कार्यक्रमको अध्यक्षता समेत गर्नु भएका मधेसी आयोगका सदस्य आभाकुमारी सिंह (आभा सेतु सिंह) ले लक्षित समूह अर्थात् महिला, बालबालिका, उपेक्षित, दलित लगायतको समस्या पहिचान गरी समाधान र सशक्तीकरणका लागि सरकारसँग सहकार्य गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनु भयो । सुदूरपश्चिम प्रदेशमा रहेका मधेसी समुदायलाई सङ्गठित गर्न उक्त अन्तरक्रिया कार्यक्रम गरिएको बताउँदै सदस्य सिंहले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारका सबै तह तप्कामा मधेसी समुदायलाई पनि समावेश गरी संविधानमा उल्लेखित अधिकार कार्यान्वयनमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पछिल्लो समयमा कुनै पनि वर्गले राज्यबाट दिइने सुविधामा विभेदको महसुस गर्न नपरेको विश्वास व्यक्त गर्नुभएको छ । उहाँले हरेक समुदायले आफ्नो क्षमता अभिवृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले कञ्चनपुर जिल्लामा मधेसी समुदाय अल्पसङ्ख्यक रूपमा रहेको बताउनु भयो । मधेसी समुदायको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा राज्यले प्राथमिकता दिएको बताउँदै उहाँले समुदाय भित्रका कुरीति हटाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button