तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा गर्भवती महिलाको हवाई उद्धार

बाजुरा। बाजुराको कोल्टी स्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट एक गर्भवती महिलाको हवाई उद्धार गरिएको छ।

जिल्लाको जगन्नाथ गाउँपालिका–५ निवासी २३ वर्षीया विपना सार्कीको स्वास्थ्य अवस्था जटिल बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि सुर्खेत पठाइएको हो। सार्कीलाई प्रारम्भिक उपचारका लागि कोल्टी अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा उहाँको अवस्था जटिल देखिएकाले जिल्लामा उपचार सम्भव नभएपछि विशेषज्ञ सेवा उपलब्ध हुने सुविधा सम्पन्न अस्पताल सुर्खेत रिफर गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।

दुर्गम भौगोलिक अवस्थाका कारण सडकमार्गबाट समयमै उपचार सम्भव नभएपछि हवाई उद्धारको व्यवस्था गरिएको प्रजिअ निरौलाको भनाइ छ। राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गम तथा विकट क्षेत्रका जटिल अवस्थाका गर्भवती, सुत्केरी तथा नवजात शिशुलाई समयमै उपचार सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क हवाई उद्धार गरिँदै आएको छ। उक्त कार्यक्रमले बाजुरा लगायत हिमाली जिल्लाका दुर्गम बस्तीका नागरिकलाई आपतकालीन स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

बाजुरामा मात्रै हाल सम्म ४०जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरि ज्यान जोगाउन सफल भइएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button