टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने : मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताउनुभएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उहाँले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको स्पष्ट पार्नुभयो ।
मन्त्री पोखरेलले विश्वविद्यालयको दीक्षित हुने सङ्ख्या विगतको तुलनामा दोब्बर बढेकामा सराहना गर्नुभयो । “यसअघि एक हजार ३०० विद्यार्थी दीक्षित हुनुभएको रहेछ”, उहाँले भन्नुभयो, “अहिले दुई हजार ४०० भन्दा बढी विद्यार्थी दीक्षित हुनुभएको छ ।”

मन्त्री पोखरेलले स्थानीयको भावनाअनुरूप विभिन्न विषय र सङ्काय थप गरिने बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीप दैनिक जीवनमा प्रयोग गर्नुहोला ।”
विश्वविद्यालयका छवटै सङ्कायका स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी तहका विद्यार्थी एकै पटक दीक्षित भएको विश्वविद्यालयले जनाएको छ । त्यस अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विभिन्न छात्रछात्रालाई चान्सलर, भाइस चान्सलर, स्वर्ण पदक तथा डिन पदक प्रदान गरियो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार चान्सलर पदक व्यवस्थापन सङ्कायका निशान्त चन्द र भाइस चान्सलर पदक कृषि विज्ञान सङ्कायका कैलाशराज भट्टले प्राप्त गर्नुभएको छ । उक्त विश्वविद्यालयबाट यसपटक विद्यावारिधि (पिएचडी) गर्ने पहिलो महिला छात्राका रूपमा डा तुलसीकुमारी शर्मासमेत दीक्षित हुनुभएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्