भद्रपुरमा नमूना संयुक्त राष्ट्र सङ्घको अभ्यास
झापा । झापाको सदरमुकाम रहेको भद्रपुरमा आजदेखि नमुना संयुक्त राष्ट्र सङ्घको अभ्यास कार्यक्रम (बीएमएमयूएन–२०२४) हुने भएको छ । यस्तो कार्यक्रम जिल्लामै पहिलोपटक हुन लागेको हो ।
मेची बहुमुखी क्याम्पसको सहकार्यमा भद्रपुर युवा परिषद्को आयोजनामा आजदेखि जेठ २ गतेसम्म नमुना संयुक्त राष्ट्र सङ्घको अभ्यास हुन लागेको नगरपालिकाको सभा हलमा आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
युवाहरूको नेतृत्व क्षमताको विकासका लागि ‘‘भद्रपुर मुनिसिपालिटी मोडल युनाइटेड नेशसन–२०२४’ आयोजना हुन लागेको नगर युवा परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिनुभयो ।
नमुना संयुक्त राष्ट्र सङ्घको अभ्यास कार्यक्रममा १६ देखि २४ वर्ष उमेर समूहका नगरका १५० जना युवा सहभागी हुनेछन् । तीमध्ये १३० जना सहभागी हुनेछन् भने २० जना स्वयम्सेवक हुनेछन् । सबै कार्यक्रम अंग्र्रेजी माध्यमबाट हुने भएकाले सहभागी सोही अनुसार सहभागी छनोट गरिएको आयोजकले जनाएको छ ।
युवालाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकास, संयुक्त राष्टसंघको कार्य, भूमिका, महासभाको अभ्यास, अन्तर्राष्ट्रिय सवालहरूमा पैरवी गर्न, दिगो विकास लक्ष्यबारे बहस गर्न, मानव अधिकार, सुरक्षा परिषद् लगायतका विषयमा प्रशिक्षित गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सरोज ढकालले जानकारी दिनु भयो । उहाँले नगरमा रहेका करिब २९ हजार युवालाई क्रमशः यस प्रकारका कार्यक्रममार्फत प्रशिक्षित गर्दै जाने बताउनु भयो । कार्यक्रममा प्रशिक्षकको रुपमा डा. एकराज दाहाल रहनुहुने बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्