जसपा स्थिर सरकारको पक्षमा छः महासचिव राई

नेपालगञ्ज। नवगठित जनता समाजवादी पार्टीका महासचिव मो. इश्तियाक राईले नेतृत्वको स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टी विभाजन गर्नुपरेको बताउनुभएको छ । गृह नगर नेपालगञ्जमा आज पत्र कारहरूसँग कुराकानी गर्दै महासचिव राईले रहरले नभई बाध्यतावश पार्टी विभाजन गर्नुपरेको बताउनुभयो ।
नेतृत्व व्यक्तिवादी हुँदा पार्टी कमजोर बन्दै गएपछि बहुसङ्ख्यक पार्टी नेता र कार्यकर्ताको भावनालाई सम्मान गर्न आफूहरू अलग भएको राईको स्पष्टोक्ति छ । सरकारलाई दिएको समर्थन कायमै राख्ने स्पष्ट पार्दै उहाँले जसपा स्थिर सरकारको पक्षमा रहेको बताउनुभयो । जसपा नेपालको मूल नेतृत्वले शालीन, दिग्गज र वरिष्ठ नेताहरूलाई लखेट्ने काम गरेको आरोप लगाउँदै महासचिव राईले व्यक्तिगत महत्त्वाकाङ्क्षाले पार्टी भताभुङ्ग हुँदै गएको बताउनुभयो ।
राईले आफूहरूको पार्टीमा सात जना संघीय सांसद रहेको बताउँदै प्रदेश र स्थानीय तहका बहुसङ्ख्यक जनप्रतिनिधि पनि आफूहरूसँगै रहने विश्वास व्यक्त गर्नुभयो । नवगठित पार्टी व्यवस्थापनमा लागेको बताउँदै आफ्नो गृह जिल्लाका झण्डै शतप्रतिशत नेता कार्यकर्ता आफूसँगै लाग्ने दाबी गर्नुभयो । उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट टुक्रिएर अशोक राईको नेतृत्वमा जसपा गठन गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्