सञ्चार ग्रामले प्रभावकारी प्रसारण गर्नुपर्छ : सचिव सुवेदी
विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम इतिहासको धरोहर भएकाले यहाँबाट हुने प्रसारण हुने कार्यक्रम प्रभावकारी र जनताको मन जित्ने खालका हुनुपर्ने बताउनुभएको छ ।

रेडियो नेपालद्वारा सञ्चालित विराटनगर–४ स्थित खार्जीमा रहेको तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्रामको अनुगमन तथा निरीक्षणपछि कार्यरत कर्मचारीहरूसँग छलफल गर्नुहुँदै सचिव सुवेदीले नेपालको इतिहास बोकेको संस्थामा काम गर्न पाउनु आफैँमा गौरवको विषय भएको बताउनुभयो । उहाँले सञ्चार ग्रामको प्रसारण सेवालाई थप प्रभावकारी बनाउन आफूले सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।

उहाँले रेडियो नेपाल सबै रेडियोको विश्वविद्यालय भएकाले रेडियो नेपालको प्रविधिको विकासलाई उपयोग गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार ग्रामले जनजीविकासँग जोडिएका विषयलाई महत्व दिँदै कार्यक्रम तथा समाचार प्रसारण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

सचिव सुवेदीले सार्वजनिक सेवा प्रसारण विधेयक विषयगत समितिमा छलफलको अन्तिम चरणमा रहेकाले सो विधेयक चाँडै संसदबाट पास हुन लागेको जानकारी गराउनुभयो । उहाँले रेडियो नेपालको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेकाले सञ्चार ग्राममा कार्यरत कर्मचारीहरूले पनि विज्ञापन सङ्कलन कार्यमा प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले सञ्चार ग्रामले आफ्नो उद्देश्य अनुसार काम गर्दै आएकाले सञ्चार ग्रामको एप वेबसाइट चाँडै सञ्चालनमा ल्याउनुका साथै सञ्चार ग्रामबाट गीत रेकर्डिङ सेवाका लागि सम्पुर्ण तयारी पुरा भइसकेको जानकारी गराउनुभयो ।

छोटो समयमा सञ्चार ग्रामबाट प्रसारण हुने सेवाले श्रोतको मन जित्न सफल भएकोमा खुसी व्यक्त गर्दै उहाँले रेडियो नेपालद्वारा सञ्चार ग्राममा सञ्चालित महानगर एफ एमलाई अझ प्रभावकारी बनाउन एफएम प्रसारण सेवाको समय थप गर्न लागिएको जानकारी दिनुभयो । उहाँले सञ्चार ग्रामबाट चाँडै थारु तथा राजवंशी भाषाको कार्यक्रम प्रसारण गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा सञ्चार ग्रामका प्रमुख बलराम चौधरीले सञ्चार ग्रामलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधारलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चार ग्रामबाट प्रसारण हुँदै आएका सेवा तथा कार्यक्रमबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा सहभागी कर्मचारीहरूले प्रसारण हुँदै आएको कार्यक्रम तथा समाचारबारे जानकारी गराउनुभएको थियो ।

त्यसअघि सचिव सुवेदी तथा कार्यकारी निर्देशक केसीले सुनसरीको धरानमा अवस्थित रेडियो नेपाल ट्रान्समिसनको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो ।










प्रतिक्रिया राख्नुहोस्