जनताका रोक्का जग्गा फुकुवा गर्न मेयर्स फोरमको माग
भक्तपुर । उपत्यका मेयर्स फोरमले स्मार्ट सिटीको नाममा लामो समयदेखि जनताका रोक्का जग्गा फुकुवा गर्न माग गरेको छ ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा मध्यपुर थिमी नगरपालिकाको गठ्ठाघरमा गएराती सम्पन्न आठौँ बैठकले लामो समयदेखि जग्गा रोक्का हुँदा जनताले दुख पाएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएको हो ।
स्मार्ट सिटीको विषयमा अहिलेसम्म के के काम भइरहेको छ भन्ने जानकारी सम्बन्धित नगरपालिकाले समेत नपाएको भन्दै कि तत्काल लागू गर्न नभए रोक्का जग्गा फुकुवा गर्न माग गरेको मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
तीन वर्षको लागि भनेर रोक्का राखिएको जग्गा सात वर्षसम्म पनि कुनै निकास ननिकाल्दा जनता मारमा परेको र पटक पटकको मेयर्स फोरमको आग्रहको बेवास्ता गरिएकाले अब भने कडाइका साथ सरकारलाई दबाब दिने निर्णय फोरमले गरेको उहाँको भनाई छ ।
बैठकले यसअघि अर्थमन्त्रीसँग भएको समझदारी विपरीत नेपाल प्राधिकरणले विद्युत् लाइन काट्न पत्राचार गरेको र केही नगरपालिकामा भने विद्युत् लाइन काटिएको भन्दै आपत्ति जनाएको छ । प्राधिकरणले हचुवाको भरमा लाइन काटेको भन्दै यो विषय नटुङ्गिएसम्म सङ्घर्ष जारी राख्ने निर्णय मेयर्स फोरमले गरेको छ ।
बैठकले स्थानीय सरकार सञ्चालन ऐनको संशोधन सम्बन्धमा यथेष्ट गृहकार्य गरेर सरकारलाई बुझाउने र स्थानीय तहका विभिन्न विषयमा जानकारी गराउन प्रधानमन्त्रीसँग भेटेर ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । बैठकमा नेपाल नगरपालिका संघ बागमती प्रदेश अध्यक्ष तथा कागेश्वरी मनहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीसहित उपत्यका मेयर्स फोरमका उपाध्यक्ष तथा सुर्यबिनायक नगरपालिका मेयर वासुदेव थापा, सचिव घनश्याम गिरी, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक प्रसाद रिसाल लगायत पदाधिकार तथा सदस्यहरूको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्