मटिहानीका दुई हजार गृहिणीलाई ग्यास चुल्हो हस्तान्तरण
महोत्तरी । सधैँ गुइँठाको धुवाँमा रुमल्लिएर बर्बरी आँसु झार्दै खाना पकाउनुपर्ने महोत्तरीको मटिहानीका गृहिणीले राहत पाएका छन् ।
मटिहानी नगर क्षेत्रका दुई हजार गृहिणीले ग्यास चुल्हो (ग्यास सिलिण्डर र चुल्होसमेत) र त्यो बाल्ने सीप सिकेपछि राहतको अनुभूति गरेका हुन् । मटिहानी नगरक्षेत्रका विपन्न दुई हजार गृहिणीलाई शनिबार भारत सरकारको साना विकास परियोजनाको सहयोगमा सुशीला ठाकुर मेमोरियल हेल्थ फाउन्डेसन जनकपुरधामले निःशुल्क चुल्हो वितरण गरेको हो ।
“हमरोसबके सुखके दिन आयल, आब सबदिन गोबरक पथरीके धुवाँमे नइ कान परत” (हाम्रा पनि सुखका दिन आएछन्, अब सब दिन गोबरको पथरी, गुइँठाको धुँवामा रुनु परोइन मटिहानी ) सिमरदहीकी अति विपन्न डोम समुदायकी पुनमदेवी मररले भन्नुभयो । पुनमजस्तै मटिहानी–१ धिरापुरकी पुम्लोदेवि मण्डल, मटिहानी–६ की सजिरा खातुन र मटिहानी–८ की अनिता महराले पनि अब पानी पर्दा, अपर्झट पाहुना आउँदा राहत मिल्ने आश गर्नुभएको छ । “बारिस् भरहलबेर आब गुइँठी आ पतोइ खोज नई जाय परत” (अब पानी परिरहेका बेला गुइँठा र पतिङ्गर खोज्न निस्कनु पर्दैन होला ) सजिरा खातुनले भन्नुभयो । मटिहानी नगरपालिकाका नौवटै वडाबस्तीका अतिविपन्न दुई हजार परिवारले ग्यास चुल्हो पाएका छन् ।
मटिहानीको अतिविपन्न परिवारलाई ग्यास चुल्हो सो क्षेत्र ९ महोत्तरी–३० कै प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले हस्तान्तरण गर्नुभयो । कार्यक्रम आयोजक सुशीला ठाकुर मेमोरियल हेल्थ फाउन्डेसन महन्थ ठाकुरकी स्वर्गीय धर्मपत्नीका नाममा स्थापित संस्था हो । कार्यक्रममा फाउन्डेसनकी अध्यक्ष डा मीनाक्षी ठाकुरले आमाका नाममा स्थापित संस्था विपन्न परिवारको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ग्यास चुल्हो वितरण कार्यक्रममा सांसद ठाकुरले भारत सरकारको उदात्त सहयोगले विपन्न परिवारलाई महत् सहयोग पुगेको बताउनुभयो । उहाँले नेपाल–भारत पारिवारिक, सांस्कृतिक र धार्मिक सम्बन्धका मात्र नभई सुखदुःखका सबैभन्दा नजिकका साथी हुन् भन्नुभयो । कार्यक्रम मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्