तपाईँ सुन्दै हुनुहुन्छः

लोप उन्मुख कपास खेती : पुन आकर्षित हुँदै सोरूका स्थानीय

मुगु । परम्परागत रूपमा कपास खेती गर्दै आएका जिल्लाको उत्तरी क्षेत्र पर्ने सोरु गाउँपालिकाका स्थानीयहरूले प्रशोधन गर्न झन्झटिलो मानेर १८ बर्ष अघि बाट यो खेती छोडेका थिए । अहिले आधुनिक उपकरण औजारका साथ गाउँमै कपास उद्योग सञ्चालनमा आएपछि पुन कपास खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

सोरु गाउँपालिका भरका स्थानीयहरूले परम्परागत रूपमै कपास खेती सञ्चालन गर्दै आएका थिए । गाउँमै हाते औजारका सहायताले विभिन्न प्रकारका कपडा उत्पादन गरी जिल्लाभित्र र छिमेकी जिल्ला हुम्लासम्म बिक्री गरी नगद र जिन्सी सामान आम्दानी गर्दै आएका भए पनि कपास प्रशोधन गर्न र आवश्यक औजार उपकरण जुटाउन नसक्दा १८ बर्ष अगाडि बाट कपास खेती गर्न पूर्ण रुपमा छोडेका थिए ।

सोरु गाउँपालिकाका भित्रका ९ वटै वडामा गठित १ सय २६ समूह र ११ वटा अन्तर समूह गरी १ हजार ७९ शेयर सदस्यहरुले १ सय हेक्टरमा तीन वर्ष यताबाट कपास खेती गर्दै आएका छन् । २०६८ सालमा स्थापित परिवर्तनशील साना किसान कृषि सहकारी संस्था लिमिटेडले सोही गाउँपालिका—८ तारापानीमा आधुनिक उपकरण औजारसहित उद्योग सञ्चालन गरेको छ ।

किसानले उत्पादन गरेको कपास प्रति केजी २ सयका दरले उद्योगले खरिद गर्ने गरेको छ । प्रशोधन भएको कपासबाट निस्केको बिउ माग अनुसार समूहमा निःशुल्क वितरण गर्ने गरेको छ । कपासबाट राम्रै आम्दानी हुने भएकाले गाँउमा ८ देखि ९ जना सम्मको समूह निर्माण गरी सामूहिक कपास खेती गर्दै आएको सोरु गाउँपालिका —८ की कृषक रितु रावलले बताउनुभयो ।

कपास प्रशोधन गर्दा झन्झटिलो मान्नुका साथै गाउँमै आयातित कपडा पुग्न थालेपछि कपास खेती लोप उन्मुख अवस्थामा पुगेको थियो । अहिले गाउँमै कपास प्रशोधन देखि कपडा बुन्ने उपकरणका साथै औजारसहित उद्योग सञ्चालनमा आएपछि कपास खेतीले व्यापकता पाएको सोही गाउँपालिका—९ का स्थानीय कृषक शिद्धलाल चौलागाईको भनाइ छ ।

यस उद्योगमा अहिले दैनिक १३ देखि १५ जना व्यक्तिहरू विभिन्न खाले कपडा उत्पादनमा संलग्न छन् । उनीहरू सबैले यस उद्योगमा ९० दिनको तालिम प्राप्त गरेका छन् तालिमबाट प्राप्त गरेको सिप खेर जाने चिन्ता सबैमा थियो । तालिम पश्चात् सबैले उद्योगमै रोजगारी पाएका भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट कुनै खाले सहयोग नपाएको उद्योगका कामदारहरूको गुनासो छ ।

अहिले उद्योग सञ्चालनमा आएपछि आधा दर्जन भन्दा बढी कपासबाट निर्मित कपडाका सामग्री उत्पादन हुने गरेका छन् । यहाँबाट उत्पादित सामग्री जिल्ला देखि सुर्खेत, काठमाडौँ लगायत अन्य स्थानबाट माग हुँदै आएको छ । उद्योगमा प्रत्यक्ष २३ जनाले रोजगारी पाएका छन् । युएनडिपीको आर्थिक सहयोगमा १६ किलोवाट सौर्य बिुधतबाट उद्योगमा दुई प्रकारका मेसिन जडान गरि प्रतिदिन १० देखि १२ क्विन्टल कपास प्रशोधन हुने गरेको परिवर्तन साना किसान कृषि सहकारी संस्था लिमिटेका अध्यक्ष पदम बहादुर मल्लले बताउनुभयो ।

गाउँमै उद्योग सञ्चालनमा आएर कपास खेतीतर्फ कृषकहरू आकर्षित भएका बेला उद्योगलाई अझै प्रभावकारी रूपमा अघि बढाउन र उद्योगका लागि चाहिने आवश्यक मेसिन, हाते ओैजारका साथै उत्पादित बस्तुको व्यापक बजारीकरणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले यसतर्फ कुनै चासो नदेखाएको स्थानीयहरूको गुनासो छ । उत्पादित सामाग्री बजारीकरण गर्न कुनै निकायबाट सहयोग उपलब्ध नहुँदा तराईमा उखु कृषकहरूले खेप्दै आएको पिडाजस्तै सोरूमा तीन वर्ष यताबाट सुरुवात गर्न थालेको कपास खेती गर्ने कृषकहरूको पनि उस्तै पिडा हुन सक्ने भएकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारले बेलैमा ध्यान पुराउन आवश्यक छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button