तपाईँ सुन्दै हुनुहुन्छः

ग्लोबल मनि विक शुरु

काठमाडौँ । मुद्राका बारेमा बालबालिका तथा युवाहरूलाई सशक्तिकरण र शिक्षित बनाउने उद्देश्यले प्रत्येक वर्ष विश्वव्यापी रुपमा मनाइने ग्लोबल मनि विक (Global money week) नेपालमा आजदेखि शुरु भएको छ ।

नेपाल राष्ट्र बैकको संयोजनमा नेपाल धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण तथा पूँजी बजार तथा मुद्रा बजारका अन्य सम्वद्ध निकायहरूको समेत संलग्नतामा शुरु भएको सप्ताहको नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गर्नुभयो ।

साताभर मुद्रासँग सम्बन्धित विभिन्न सचेतनामुलक कार्यक्रमहरूको आयोजना गरि मनाउन लागिएको सप्ताहको नारा “तपाईँको पैसाको बचत गरौँ, भविष्य सुरक्षित गरौँ” भन्ने रहेको छ ।

सप्ताहको शुभारम्भ गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पैसाको बचतका लागि वित्तीय चेतना जागरण आवश्यक भएकोमा जोड दिनुभयो ।

उहाँले पैसाको बचत, परिचालन तथा सुरक्षित प्रयोगका सम्बन्धमा सचेतना अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता कार्ययोजना कार्यान्वयनमा ल्याएको र सञ्चार माध्यमहरूमा समेत वित्तीय साक्षरताका एकीकृत कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो ।

गभर्नर अधिकारीले सानैदेखि बचत गर्ने बानी बसाले त्यसले भविष्यलाई सुरक्षित गर्छ भन्दै बचत गर्नु अनिवार्य भएकोमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बालबालिका तथा युवाहरू बीचमा वित्तीय जागरण ल्याउन ओइसिडिको आव्हानमा विगत १२ वर्षदेखि नेपालमा ग्लोबल मनि विक मनाउँदै आएको बताउनुभयो ।

यस क्रममा देशका विभिन्न भागमा वित्तीय जागरण ल्याउन ल्याउने खालका विभिन्न कार्यक्रमहरूको आयोजना गरिने कार्यक्रम रहेको छ । सप्ताहको क्रममा नेपाल राष्ट्र बैकसँगको समन्वयमा अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले पनि विभिन्न कार्यक्रमहरू गर्ने भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button