जीप दुर्घटना अपडेट : मृतककाे सङ्ख्या आठ पुग्यो, सबैको सनाखत

भोजपुर । धरानबाट भोजपुर घोरेटारतर्फ यात्रु लिएर आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
घटनास्थलमा नै सात जनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकका अनुसार मृतक आठ जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा इटहरी ९ का चालक ४० वर्षका मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका २ का ७० बर्षिया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्र प्रकाश राई, छ महिनाको बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी ५ की ३२ बर्षिया राजकुमारी राई , हतुवागढी ९ का ६८ बर्षीय पदम बहादुर थापा, बर्ष ४५ की कमला अधिकारी र घाइते हतुवागढी ५ का ४२ बर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिनुभयो ।
गम्भीर घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
इलाका प्रहरी कार्यालय घोरेटारबाट सात जना र हसनपुरबाट पाँच जना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिनुभयो ।
घाइतेहरूको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ । धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को१ज २५९३ नम्बरको जीप आज बिहान साढे १० बज उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा दुर्घटना भएको थियो ।
जीपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीले अनुमान गरेको छ । जीपमा १७ जनाभन्दा यात्रु सवार रहेको बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्