छात्रवृत्तिमा एमबीबीएस पढाउँदै तातोपानी गाउँपालिका

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै पालिकामा विशेषज्ञ डाक्टर उत्पादन गर्न छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको छ । पालिकाको ५० प्रतिशत छात्रवृत्तिमा एक जनालाई तातोपानीले एमबीबीएस पढाउने भएको हो ।
आफ्नै पालिकाका विशेषज्ञ डाक्टर उत्पादन गर्ने मनसायले कार्यविधि नै पारित गरेर एमबीबीएस पढाउने कार्यलाई तातोपानीले अघि बढाएको छ । गाउँ सभाको १४ औँ अधिवेशनबाट एमबीबीएस अध्ययन छात्रवृत्ति सम्बन्धी कार्यविधि–२०८० पारित समेत भइसकेको छ ।
कार्यविधि पारित सँगै पालिकाकै एकजना जेहेन्दार विद्यार्थीलाई डाक्टरी पढाउने बाटो खुलेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो । उहाँले भन्नुभयो,‘एमबिबिएसको कोर्स पुरा गर्न लाग्ने सम्पुर्ण खर्चको ५० प्रतिशत रकम पालिकाले व्यवहोर्ने छ । त्यसका लागि वर्षेनी आवश्यक बजेट विनियोजन गर्ने छौ । एमबीबीएस सकेपछि दुई वर्ष पालिकामै सेवा गर्नुपर्ने सर्त छ ।’
५० प्रतिशत छात्रवृत्ति दिएर गाउँकै व्यक्तिलाई डाक्टर बनाउने पालिकाको लक्ष्यलाई तातोपानीका ८ वटै वडाध्यक्ष तथा अन्य गाउँसभा सदस्यहरुले समेत समर्थन गरेका छन् । छनोट प्रक्रिया निकै पारदर्शी हुनु पर्ने भन्दै डाक्टरी पढाउने पालिकाको लक्ष्य सफल बनाउनु पर्नेमा प्रवक्ता अमर बहादुर रोकायाले बताउनुभयो ।
चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण गरेको,गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने एक जना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस अध्ययन छात्रवृत्ति उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले पालिकाले छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि चालु आर्थिक वर्षमा १५ लाख विनियोजन भएको बताउनुभयो । उहाँका अनुसार उक्त बजेट खर्चका लागि कोषको समेत व्यवस्थापन गरिएको छ ।
उहाँले भन्नुभयो,‘बजेट पनि विनियोजन भइसकेको छ । कार्यविधि पनि पारित भइसक्यो । राजपत्रमा प्रकाशित भएलगत्तै कार्यविधि कार्यान्वयनमा आउने र सूचना जारी गरेर इच्छुक नागरिकको आवेदन माग गरिने छ । डाक्टरी पढाउने कार्यक्रम चालु आवमै सुरु गर्ने तयारी छ ।’
गाउँपालिका अध्यक्षको संयोजकत्वमा विभिन्न विषय विशेषज्ञ सहितको ९ सदस्यीय एमबीबीएस अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति रहेको छ । उक्त समितिले सबै मापदण्डअनुसार व्यक्ति छनोट गर्ने कार्यविधि उल्लेख छ ।
एमबीबीएस अध्ययनका लागि मात्रै लक्षित छुट्टै कोष स्थापना गरिने छ । कोषमा दातृ निकाय विकास साझेदार गैरसरकारी संघ संस्था तथा व्यक्तिबाट स्वेछिक रुपमा सहयोग समेत उपलब्ध गराउन सकिने छ ।
यसैबीच गाउँपालिकाको छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले अध्ययन सम्पन्न भएपश्चात् कम्तीमा दुई वर्षसम्म गाउँपालिकामै सेवा गर्नुपर्ने छ । त्यसका लागि छनोट विद्यार्थीले पालिका समक्ष कबुलियतनामा गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भर्ना शुल्क, रजिष्ट्रेशन शुल्क, मासिक शुल्क सम्बन्धित शिक्षण संस्थाको खातामा जम्मा हुने गरी बैकमार्फत भुक्तानी गर्ने कार्यविधिमा व्यवस्थापन गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्