तपाईँ सुन्दै हुनुहुन्छः

मधेसलाई मरुभूमिकरणबाट बचाउन चुरेको संरक्षण जरुरी : अध्यक्ष यादव

वीरगञ्ज । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र अध्यक्ष चुरे उत्खनन् मधेसको सबै भन्दा ठूलो समस्या भएको बताउँदै मधेसलाई मरुभूमिकरणबाट बचाउन चुरेको संरक्षण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ ।

उहाँले पहाडलाई कङ्गाल र मधेसलाई मरुभूमिकरण बनाउने गिरोह सक्रिय रहेको बताउँदै हाल संसदमा आएको गिट्टी बालुवा निर्यात गर्ने विधेयक फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो ।

छैठौ मधेश बलिदानी दिवसको अवसरमा आज मधेश प्रदेश सरकार गृह सञ्चार तथा कानुन मन्त्रालय, मधेशी सहिद प्रतिष्ठानको संयुक्त आयोजनामा आज वीरगन्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेशका जनताको मुक्तिका लागि प्राणको उत्सर्ग गर्ने सहिद परिवार र घाइतेहरूलाई मधेश सरकारले उचित सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाँले मधेश आन्दोलनकै कारण मुलुक समावेशीकरण भएको छ भन्नुहुँदै ३३ प्रतिशत महिलालाई आरक्षण गर्ने कानुन मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिमलाई आरक्षणको व्यवस्था समेत मधेश आन्दोलनकै बलमा भएको दाबी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले मधेश आन्दोलनका सहिद तथा घाइते भएका व्यक्तिहरूको सम्मानका लागि सरकार कहिले पछि नपर्ने बताउँदै मधेशमा पाइन्टमाथि धोती लगाएर धोतीको अपमान गर्ने समूहसँग सचेत रहन आग्रह गर्नुभयो ।

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका सहिद परिवारले जति सम्मान अन्य आन्दोलनका सहिदले नपाएको दाबी गर्दै सहिद परिवारलाई कहिल्यै पनि राज्यले क्षतिपूर्ति दिन नसक्ने बताउनुभयो ।

मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री महम्मद सलिमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्घीय सरकारका शिक्षा राज्यमन्त्री प्रमिला यादव, प्रदेश सरकारका खानेपानी मन्त्री सिंहासन साह कलवार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, श्याम पटेल, बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मधेशका राजनीतिक विश्लेषक वरिष्ठ पत्रकार एवं लेखक राम भरोस कापडद्वारा रचना गरिएको मधेश गान सार्वजनिक गरिएको थियो । मधेश गानमा चर्चित गायक उदित नारायण झाको स्वर रहेको छ ।

यसैगरी कार्यक्रममा मधेश आन्दोलनको क्रममा घाइते भएका ६३ जना सहिद परिवारलाई ३/३ लाख रुपैयाँको चेक तथा घाइते भएका १ सय ३० जनालाई घाइतेको स्वरूप हेरी जनही ३ लाख देखि १ लाख ५० हजार रुपैयाँ सम्म प्रदान गरिएको थियो ।

पर्सादेखि सप्तरी सम्मका ८ जिल्लाबाट आएका सहिद तथा घाइते परिवारलाई आवत जावत बाटो खर्च जनही ४/४ हजार रुपैयाँ नगद र १/१ थान ब्ल्यांकेट समेत प्रदान गरिएको थियो ।

बलिदानी दिवस कार्यक्रमको रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिबासले प्रत्यक्ष प्रसारण समेत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button