तहगत सरकारबीच हुने समन्वयलाई बढाउन समितिको निर्देशन

काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकले तहगत सरकारबीच हुने समन्वयलाई बढाउन निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समितिमा आज भएको छलफलमा सभापति दिल कुमारी रावल थापा पार्वतीले राष्ट्रिय गौरवका आयोजना तथा अन्य महत्वपूर्ण आयोजना सञ्चालनका लागि अन्तर समन्वय ऐन कार्यान्वयन गर्नुपर्ने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सुरु गर्न निर्देशन दिनुभएको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुलाकी, पुष्पलाल लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, कर्णाली तथा कोशी लोकमार्गको प्रगति वितरण समितिलाई जानकारी गराउनुहुँदै रेल्वे तथा मेट्रो विकास आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय गौरवका आयोजनाहरूको काम अगाडि बढिरहेको जानकारी दिनुहुँदै मन्त्री ज्वालाले जनताको जीवन सुरक्षाका लागि सडक सुरक्षा, सवारी परीक्षण, खाल्डा पुर्ने कार्य, सडकमा सङ्केत चिन्ह राख्ने लगायतका कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले सवारी साधन अनुगमन गर्दा दुर्घटना घटाउन सकिएको र पूर्वाधार निर्माण गर्दा विकास पनि हुने जनतालाई सास्ती पनि नहुने गरी गरिने बताउनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले वन ऐन, राष्ट्रिय निकुञ्ज ऐन, वातावरण ऐन लाई विकास मैत्री बनाउन संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।
बैठकमा सांसदहरुले विकास निर्माणका कार्य सुस्त भएको, निर्माणाधीन सडकमा छोडिएका खाल्डा, गिट्टी बालुवाले दुर्घटना बढाएको, ठेक्का भएको लामो समयसम्म पनि काम नहुने लगायतका विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्