तपाईँ सुन्दै हुनुहुन्छः

अफगानिस्तानबाट ८ महिनामा २७ मिलियन अमेरिकी डलरको केशर निर्यात

काबुल । अफगानिस्तानले विगत आठ महिनामा २७ मिलियन अमेरिकी डलरको केशर निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले आइतबार सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । 

लगभग १८ हजार ६२० किलोग्राम बहुमूल्य केशर निर्यात भएको टोलोन्युजले उल्लेख गरेको छ । अफगानिस्तानमा स्थानीय रूपमा ‘रातो सुन’ भनेर चिनिने मूल्यवान् मसला प्रायः भारत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, टर्की, इन्डोनेसिया, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका र बेलायतमा निर्यात हुने गरेको जावादले बताउनुभएको छ । पश्चिमी हेरात प्रान्तमा केशरको अत्यधिक खेती गरिएको छ।

यसैबीच, कृषि, सिँचाइ तथा पशुपक्षी मन्त्रालयले द्वन्द्वग्रस्त मुलुकका अन्य प्रदेशमा पनि केशर खेतीलाई प्रवर्द्धन गर्ने प्रयास स्वरूप २ सय कृषकलाई तालिम प्रदान गरेको जनाएको छ ।

अफगानिस्तानका निर्यात हुने प्रमुख वस्तुहरूमा कोइला, केशर, ताजा र सुख्खा फलफूल, हातले बुनेको गलैँचा र बहुमूल्य ढुङ्गा (पत्थर) आदि पर्दछन्। रासस-सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button