तपाईँ सुन्दै हुनुहुन्छः

कामपाका प्रगतिशील कामबाट सङ्घीय सरकारलाई उत्प्रेरणा मिलेको छ : प्रधानमन्त्री

काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

२९औँ काठमाडौँ महानगर दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोत तथा साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउन सरकारले प्रभावकारी काम गर्ने बताउनुभयो ।

नेपालको संविधानले सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा तीन तहको सरकारको प्रस्ट व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन कानुन निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । 

“सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौँ महानगरपालिकालगायत सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ छ ।”

काठमाडौँ देशको राजधानी मात्र नभएर विश्वकै प्राचीनमध्येको एक सांस्कृतिक सहरका रूपमा रहेको जनाउँदै उहाँले विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपानआदिले काठमाडौँलाई खुला सङ्ग्रहालयका रूपमा विश्वमाझ चिनाएको बताउनुभयो । “आदिम वैभवको उचित संरक्षणले काठमाडौँको विशिष्ट वैश्विक पहिचानको जगेर्ना गर्दछ, अर्कोतर्फ पर्यटन प्रवर्द्धनका माध्यमबाट नागरिक जीवनमा सम्पन्नता ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउँछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “काठमाडौँको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्द्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार हुनुपर्दछ ।”

पछिल्लो समय काठमाडौँ महानगरले गरेका प्रगतिशील कामलाई आफूले गम्भीरतापूर्वक नियालिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहरी सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदा संरक्षणमा महानगरको पहलले सङ्घीय सरकारलाई सकारात्मक उत्प्रेरणा पैदा गरेको बताउनुभयो । 

“लागुऔषध, सुर्ती चुरोटलगायत वस्तुमा लगाइएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जनालगायत क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसबाट सरकारलाई समेत उत्प्रेरणा मिलिरहेको छ”, उहाँले भन्नुभयो, “यसका निम्ति महानगर प्रमुख, उपप्रमुखलगायत सिङ्गो महानगर परिवारलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत अविचलित रूपमा अगाडि बढ्न अपिल गर्दछु ।”

राजधानी सहरलाई सफा, हरियालीयुक्त, सांस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताले भरिपूर्ण ऐतिहासिक सहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको उहाँको भनाइ छ । “काठमाडौँ महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपाल सरकारका तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति म सधैँ तत्पर छु ।”

उहाँले सामूहिक सहकार्यको संस्कृतिको जगमा उभिएर सङ्घीय शासन प्रणालीको फराकिलो आधार भूमिमा विकसित काठमाडौँ सहर निर्माणको साझा लक्ष्य हासिल गर्न महानगर दिवसले सबैलाई प्रेरणा देओस् भनी कामनासमेत गर्नुभयो । विसं २०५२ मा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको थियो । रासस

प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूको सम्बोधन (पुर्णपाठ)

(२९ मङ्सिर २०८०, काठमाडौँ)

काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाहज्यू,

माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू,

प्रतिनिधिसभाका माननीय सदस्यज्यूहरू,

नेपाल सरकारका मुख्यसचिवज्यू,

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलज्यू,

नागरिक समाजका विशिष्ट व्यक्तित्वहरू,

सञ्चारकर्मी मित्रहरू,

उपस्थित सम्पूर्ण महानुभावहरू ।

वि.सं. २०५२ सालमा तत्कालीन काठमाडौँ नगरपालिकालाई मुलुककै पहिलो महानगरका रूपमा घोषणा गरिएको २८ वर्ष पूरा भई २९ औँ वर्षमा प्रवेश गरेको यो हर्षपूर्ण क्षण सम्पूर्ण महानगरवासी दाजुभाइ तथा दिदीबहिनीहरूसँग बाँड्न आज म यहाँ उपस्थित भएको छु । आजको यो पावन अवसरमा म सम्पूर्ण महानगरवासी, महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूसहित सबैमा हार्दिक बधाई ज्ञापन गर्दछु । 

यस अवसरमा २९ औँ महानगर दिवस समारोहमा उपस्थित भई मलाई आफ्ना विचारहरू राख्ने अवसर दिनुभएकोमा महानगर प्रमुख लगायत आयोजक सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै महानगरको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । 

२०५२ सालको आजको दिनलाई म ‘महानगर घोषणा दिवस’का रूपमा मात्र स्मरण गर्न चाहन्नँ । वास्तवमा यो दिनले देशमा साँचो अर्थमा स्थानीय शासनको प्रारम्भ गरेको मानकका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ भन्ने मैले ठानेको छु । काठमाडौँले महानगरको गौरव प्राप्त गरेको २९ औँ वर्षगाँठ मनाइरहँदा यो मुलुकले यो तीन दशकमा आमूल परिवर्तनको अनुभूति र अभ्यास गरिसकेको छ । यसै क्रममा आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । 

सङ्घीयताको अभ्यासपश्चात् देशमा स्थानीय तहका २ वटा निर्वाचन सम्पन्न भएका छन् । यी दुवै निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै स्थानीय तहको सबलीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । 

२०७९ सालमा सम्पन्न निर्वाचनबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूले ७५३ स्थानीय तहको नेतृत्व गरिरहनुभएको छ । स्थानीय सरकारमार्फत आ–आफ्ना नगर तथा गाउँपालिकामा सेवा प्रवाह, स्थानीय विकास, सामाजिक सशक्तिकरण, साँस्कृतिक जागरण, स्थानीय शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालनका क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरिरहनुभएको छ । 

प्रधानमन्त्रीको हैसियतले काठमाडौँ महानगरपालिकाको यो मञ्चबाट म भन्न चाहन्छु– मेरो नेतृत्वको यो सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तिय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाई स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरूप स्रोतसाधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकारसम्पन्न तुल्याउन थप प्रभावकारी काम गर्नेछ ।

नेपालको संविधानले सहकारिता र सहअस्तित्वको आधारमा तीन तहको सरकारको प्रष्ट व्यवस्था गरेको छ । संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन सङ्घीय कानुनहरूको निर्माण गरेको पहिलो प्राथमिकतामा छ । सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । तसर्थ, संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौँ महानगरपालिका लगायतका सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ रहेको जानकारीसमेत गराउन चाहन्छु ।

उपस्थित महानुभावहरू,

काठमाडौँ देशको राजधानी मात्र नभएर विश्वकै प्राचीन शहरहरूमध्येको एक सांस्कृतिक शहर पनि हो । यहाँ विद्यमान विशिष्ट विशेषता बोकेका कला, संस्कृति, जीवनशैली, खानपान आदिले काठमाडौंलाई खुला संग्रहालयका रूपमा विश्वमाँझ चिनाएको छ । हाम्रा यस्ता आदिम वैभवहरूको उचित संरक्षणले एकातर्फ काठमाडौंको विशिष्ट वैश्विक पहिचानको जगेर्ना गर्दछ, अर्कोतर्फ पर्यटन प्रवद्र्धनका माध्यमबाट नागरिक जीवनमा सम्पन्नता ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याउँछ । तसर्थ, काठमाडौंको विकास, सभ्यता र संस्कृतिको संरक्षण र प्रवर्धन एवं यहाँको सौन्दर्य देशकै राष्ट्रिय कार्यभार हो र हुनुपर्दछ ।

पछिल्लोसमय काठमाडौँ महानगरले गरेका प्रगतिशील कामहरू मैले गम्भीरतापूर्वक नियालिरहेको छु । शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, देशले सङ्घीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ । यसका निम्ति म महानगर प्रमुख, उपप्रमुख लगायत सिङ्गो महानगर परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा समेत अविचलित रूपमा अगाडि बढ्न अपील गर्दछु । 

राजधानी शहरलाई सफा, हरियालीयुक्त, साँस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताहरूले भरिपूर्ण ऐतिहासिक शहरका रूपमा विकास गर्न तपाईहरूको प्रयास प्रशंसनीय छ । मेरो विश्वास छ– काठमाडौँ महानगरले भौतिक र मानवीय विकासका पक्षलाई सन्तुलित ढङ्गले अगाडि बढेर देशका सबै स्थानीय तहलाई अनुकरणीय नमुना प्रस्तुत गर्नेछ । यसका निम्ति नेपाल सरकारको तर्फबाट गर्नुपर्ने साथ, सहयोग र निर्णयका निम्ति म सधै तत्पर रहेको पनि अनुरोध गर्दछु ।

अन्त्यमा, सामूहिक सहकार्यको संस्कृतिको जगमा उभिएर सङ्घीय शासन प्रणालीको फराकिलो आधारभूमिमा विकसित काठमाडौँ शहर निर्माणको साझा लक्ष्य हासिल गर्न आजको दिनले हामी सबैलाई प्रेरणा दिन सक्ने विश्वासका साथ २९ औँ महानगर दिवसको भव्यतम् सफलताको शुभकामना व्यक्त गर्दै विदा हुन्छु । धन्यवाद ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button